
सुर्खेत । १३ वर्षको उमेरमा माइजु र दिदीबाट भारतको कोठीमा बेचिएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन् । भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी बालिकालाई ‘बेश्यालय’मा पुऱ्याइएको थियो । सात कक्षामा पढ्दै गरेकी बालिकालाई माइजु नन्दकली र दुई छोरीहरु तारा र ममताले दिल्ली पुऱ्याएका थिए। बालिकाका बुवा सानैमा बितेका थिए । भाई-बहिनी सानै थिए ।
हराएकाे सात वर्षपछि फेला परेकी बालिकाबारे हामीले तयार पारेकाे यसअघिकाे भिडियाे रिपाेर्ट
आमाको दुःखलाई नजिकबाट देखेकी बालिका कामको प्रलोभनमा परिन् । तारा र ममता दिल्लीको जीपी रोडमा कोठी सञ्चालन गर्छन् । बालिकाले त्यहाँ १५ महिना नारकीय जीवन विताइन् । ‘दैनिक ४० जनासम्म ग्राहक आउँथे, यौन सम्पर्क गर्न नदिए पिट्थे,’ उनले भनिन्, ‘१५ महिना मेरा लागि १५ वर्षजस्ता भए ।’ घरबाट जाँदा महिनावारी नभएकी उनी कोठीमा पुगेपछि गर्भवती भइन् । एकजना कोठी सञ्चालककी श्रीमति बनाएर गर्भपनत मात्रै गरिएन् अस्पतालमा उनको पाठेघरसमेत झिकियो। तारा र ममताले सञ्चालन गरेको कोठीको ५६ नम्वर कोठामा आफूलाई राखिएको उनले बताइन् । उनले आफुलाई राखिएको कोठीमा धेरै नेपाली केटीहरु रहेको जानकारी दिइन् ।
एक दिन ताराले उपचारका लागि अस्पताल लिने भन्दै आफ्नो कोठामा स्कुटरमा. राखेर लिन खोजिन् । ‘स्कुटर रोक्न धेरै आग्रह गरेँ, नमानेपछि हामफाल्छु भनेपछि स्कुटी रोकिन्,’ उनले भनिन्, ‘त्यही मौकामा भागेर दुई दिनपछि मुम्बई पुगेँ ।’ महाराष्ट्रको पुणे बसपार्कमा अलपत्र परेकी उनलाई एक स्थानीय महिलाले धर्म छोरी बनाएर राखिन् । पाँच वर्ष ९ महिनापछि उनी भागेर नेपाल आइपुगिन् । उनलाई भाईको नाम याद थियो । घरको ठेगाना थाहा थियो । उनी तीजकै दिन सात वर्षपछि आफ्नो घर आइपुगिन् । ‘आमा जिउँदै हुनुहुँदो रहेछ, आमालाई देखेपछि बहुत खुशी लाग्यो,’ उनले भनिन्, ‘घर पुग्दा स्वर्गमा आइपुगे जस्तो लाग्यो ।’ बालिकाकी आमाले छोरीको खोजीका लागि सात वर्ष संघर्ष गरिन् धेरै पटक प्रहरी कार्यालय धाइन् । दिल्ली पुयाउदे नन्दकली बालिकाकी माइजु) सँग छोरी ल्याइदिन हारगुहार गरिन् । छ वर्षसम्मको निरन्तरको संघर्षपछि प्रहरीले अघिल्लो वर्ष माघ १८ गते मानव बेचबिखन तथा ओसार पसारमा मुद्दा दर्ता गन्यो ।
‘हामीसँग बालिका बेचिएको प्रमाण केही थिएन्, मुद्दा दर्ता भएपनि कसैलाई पक्राउ गरेका थिएनौ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले भने, ‘बेचिएकी बालिकानै दिल्ली मुम्वई हुँदै नेपाल आएपछि एक महिलालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरु गरेका छौं ।’ प्रहरीका अनुसार बालिकाले नेपाली बोल्नसमेत भुलेकी छन् । ‘रजस्वला नहुँदा कोठीमा बेचिएकी बालिकाले पाठेघरसमेत झिकिएको बताएकी छन्,’ उनले भने, ‘घटना गम्भीर भएकाले हामीले त्यहाँ अनुसार अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’
प्रहरीका अनुसार दिल्लीमा काम लगाउने भन्दै सुरुमा ममता – बालिकाको घरमा पुगेकी थिइन् । ‘बहिनी हो, राम्रो काम लगाउँछु, तपाईँका दुःख पनि कम हुन्छन् भन्दै आएकी थिइँ,’ बालिकाकी आमाले भनिन्, ‘सानै उमेरकी छोरीलाई अर्काको देश पठाउन मनले नमाने, नाईं भनेर पठाइदिएँ।’ भोलिपल्ट फेरि ममताकी आमा घर पुगिन् । उनलाई पनि छोरी दिन मानिनन्। ‘म काममा गएको बेला फकाएर लगिछन्,’ बालिकाकी आमाले भनिन्, ‘भोलिपल्ट छोरी लिन जाँदा दिल्ली लगिसकेका रहेछन् ।
प्रहरीका अनुसार बालिकाको घरबाट छिन्चुसम्म नन्दकलीले ल्याएकी थिइन भने त्यहाँबाट दिल्ली ममताले पुऱ्याएकी थिइन् । प्रहरीले नन्दकलीलाई पक्राउ गरेको छ । ‘नेपालबाट आमाले केटीहरु खोजेर दिल्ली पुऱ्याउने र दिल्लीमा छोरीहरुले सञ्चालन गरेको कोठीमा काम लगाउने गरेको प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘यो क्षेत्रबाट अरु पनि कोही कोठीमा पुऱ्याइएका छन् कि भनेर पनि अनुसन्धान गरिरहेका छौं ।’ हाम्रो अखबार दैनिकमा समाचार प्रकाशित छ ।

पत्रपत्रिका । २०७८ भाद्र २९, मंगलवार