सुर्खेतमा नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गर्ने पक्राउ

सुर्खेत । नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर ९ का २५ वर्षीय दिपक झा र सोही ठाउँका २७ बर्षीय कविर खाँण छन् । उनीहरुले वीरेन्द्रनगर ९ कै स्थानीय सुवास घतानेलाई किता नं. १५८ र १६४ को जग्गा कायम गरी बिक्री गरेका थिए ।

मालपोत कार्यालयले नक्कली पूर्जा बनाएर जग्गा बिक्री गर्न खोज्ने झा र खाँणलाई कारबाही गर्न प्रहरी गुहारेपछि घटना बाहिरिएको हो । उनीहरुले नक्कली पूर्जा, कार्यालयको सही छाप र हस्ताक्षर किर्ते गरेर जग्गा बिक्री गरेको मालापोत कार्यालय सुर्खेत प्रमुख जनकबहादुर हमालले जानकारी दिए ।

घतानेलाई झुक्काएर केही रकम समेत लिइ सकेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरमा जग्गाको कारोबार बढेपछि कार्यालयले हाल: अनलाइन प्रणालीबाट जग्गा कारोबारको गर्दै आएको छ । अनलाइन प्रणालीबाट जग्गाको कारोबार गरे पनि अन्तिम रुजु गर्ने काम भने मालपोतले नै गर्दछ ।

तर झा र खाँणले मालपोत कार्यालयमा आफै काम गरिदिने बहानामा लालपुर्जामा नक्कली सही र कार्यालयको छाप दुरुपयोग गरी घतानेलाई ‘झुक्काएका हुन् । घतानेले भदौ २९ गते मालपोतमा पुगेर जग्गाको धनी पूर्जा हेर्न खोज्दा नक्कली भएको खुलेको थियो । पक्राउ परेका विरुद्ध सरकारी कार्यालयको सही छाप र हस्ताक्षर दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको सुर्खेतका एसपी पदम विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया