दैलेख । दैलेखमा नेपाल टेलिकमको टावर घाम भरोसमा चलिरहेको छ । जिल्लाको भगवतीमाई गाउँपालिका–६ सीतिनमा रहेको नेपाल टेलिकमको टावरमा राखिएका व्याट्रीले चार महिनादेखि काम नगरेपछि घाम लागे फोन र बादल लागे नो सर्भिस भरोसमा चलिरहेको हो ।
टावरले काम नगर्दा गाउँपालिकाको वडा नम्बर १ देखि ६ वडाका पगनाथ, रुम, मेहलतोली, जगन्नाथ र वडा भैरवका नागरिकहरुलाई सास्ती भएको छ । ‘गाउँमा कोही विरामी भयो वा घटना भयो भने तत्काल सम्पर्क गर्न ठूलो समस्या छ,’ गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले भने, ‘गाउँका नागरिकहरु अध्यक्ष भएर काम गर्दैनस्, हामीले कहिले ढुक्कले फोन सेवा पाउने भनेर प्रश्न गर्छन् ।’
अध्यक्ष थापाले २४ सैं घण्टा फोन सेवा सुचारु गराउँन नेपाल टेलिकम दैलेख, सुर्खेत र प्रदेश कार्यालय नेपालगञ्जमा ताकेता गर्दा सुनुवाई नभएको गुनासो गरे । ‘गाउँ नागरिकहरुले छुट्टै प्रश्न गर्छन्, लौन सेवा सुचारु गरिदिनुप¥यो भने सम्बन्धीत निकायमा भनेको भन्यै छु,’ थापा भन्छन्, ‘सुनुवाई कतैबाट भएन्, हजुर मिडियाकर्मीले केही सक्नुहुन्छ की गर्दिनु प¥यो ।’
नेपाल टेलिकमका पावर ईन्जिनियर समर बरियाले एक दुई दिनमा सीतिनको टावर नियमित हुने दावी गरे । मुख्यगरी कन्ट्रोलरमा समस्या भएपछि ब्याट्रीले काम नगर्दा फोन सेवा प्रभावित भएको बरिया बताउँछन् । ‘प्राविधिकसहितको टोली आज दैलेख जाँदैछौं,’ बरियाले भने, ‘भोली सीतिनमा पुगेर समस्या समाधान गर्छौं, सोमबारदेखी नियमित सेवा सुरु हुन्छ ।’
तर बरियाले फोन सेवा प्रभावित नभएको बताए । ‘बादल लागेको समयमा मात्रै टावरले काम नगरेको हो, घाम लागेपछि अहिले पनि काम गरिरहेको छ,’ पावर इन्जिनियर वरियाले भने । टेलिकमले कर्णालीका ग्रामिण क्षेत्रका नागरिकहरुलाई फोन सेवा प्रवाह गर्न डाँडामा राखिएका टावरसम्म विद्युत नपुग्दा समस्या हुने गरेको बरिया बताउँछन् ।
‘कर्णालीका अधिकाँश क्षेत्रमा राखिएका टावरहरुमा सोलारबाटै पावर दिएर सेवा दिइरहेका छौं,’ बरिया भन्छन्, ‘विद्युतको पहुँच पुगेको भए अझै सहज हुन्थ्यो, सोलारले कहिले काँही राम्रोसँग काम नगर्दा समस्या उत्पन्न हुन्छ ।’
प्रेमिका सिंह । २०७८ आश्विन २, शनिबार