सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१४ गढीकी देविसरा गौतमलाई अहिले पनि महिनावारी हुँदा चिसो गोठमा बसेको सम्झना छ । महिनावारी भएपछि घरभित्र परको छाउगोठमा बसेकी थिइन् । ‘महिनावारी भए भन्न पनि अप्ठ्यारो हुन्थ्यो। न खानपान राम्रो हुन्थ्यो न आराम र सरसफाइ,’ उनले भनिन, ‘घरपर छाउगोठ हुन्थ्यो । महिनावारी हुने बित्तिकै घरभित्रको काम गर्न हुँदैन । बाहिरकै काम गर भन्थे । दही दूध खान हुन्न पाप लाग्छ भन्थे । दही दूध खाए गाईभैंसी बिग्रन्छन् भन्ने हुन्थ्यो । फलफूल खाए रुख सुक्छन् भनेर खान्थेनौं । अहिले सहज भएको छ । पोसिलो खाना खान्छौं । आराम गछौं । आफ्नै घरभित्र सुत्छौं ।’

अहिले नगरपालिकाले महिनावारी सरसफाइका बारेमा जानकारी गराउनका साथै प्रत्येक महिना सेनेटरी प्याड उपलब्ध गराउँछ । अहिले महिनाको एक पटक स्वास्थ्य संस्थामा उनी पुग्छिन । स्वास्थ्य संस्थाले कार्ड बनाइदिएको छ । उक्त कार्ड लिएर उनले एउटा प्याकेट सेनेटरी प्याड लिने गरेकी छन् ।
वीरेन्द्रनगर नगरपालिका ११ की लक्ष्मी खड्काले पनि आचार्यले जस्तै अहिले स्वास्थ्य संस्थाबाट प्याड लिने गरेकी छन् । पहिलेजस्तो पायाे उस्तै कपडा प्रयोग गर्ने खड्काले अहिले प्याड प्रयोग गर्न थालेकी छन् । “महिनावारी हुँदा काम नलाग्ने कपडा प्रयोग गर्दर्थे । बुझ्दै जाँदा सफा कपडा वा प्याड प्रयोग गर्नुपर्छ भन्ने थाहा भयो,’ उनले भनिन्, ‘स्वास्थ्य संस्थाबाट प्याड दिन थालेपछि प्याड प्रयोग गर्न थालेकी छु । यसरी प्रयोग गर्दा सफा र सुरक्षित हुने भयो ।’
महिनावारीप्रतिको बुझाइ पछिल्लो समय फेरिएको छ । पछिल्लो समयकी महिलाले आफूले भोगेको समस्या छोरीहरूलाई भएको भोग्न नपरोस् भनेर सचेत छन् । वीरेन्द्रनगर नगरपालिका-१४ की हिमसरा बौडेलले आफू महिनावारी हुँदा छाउगोठमा बसेको पीडा, गाह्राे काम गर्दा स्वास्थ्यमा परेको असरले उनलाई पाठ सिकाएकाे छ । उनले छोरी महिनावारी हुँदा घरभित्रै राख्छिन् । पर्याप्त आराम र खानपानमा ध्यान दिने गरेकाे उनकाे भनाइ छ ।
महिनावारीप्रतिको गलत धारणा परिवर्तन गर्न, सुरक्षित र स्वच्छ महिनावारी हुनुपर्छ भन्ने उद्देश्यले नगरपालिकाले प्रत्येक स्वास्थ्य संस्थाबाट सेनेटरी प्याड वितरणसँगै जनचेतना जगाउने कार्यक्रम गरिरहेकाे जनाएको छ । नगरपालिकाले दुई वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गरेको हो । उपप्रमुख मोहनमाया ढकालले महिनावारीका बारेमा खुलेर राख्न सकून्, महिनावारीप्रतिको गलत धारणा परिवर्तन गरेर सुरक्षित र स्वच्छ महिनावारी हुनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताउँछिन्।
महिलाहरू सेनेटरी प्याड लिने बहानामा पनि कम्तीमा महिनाको एक पटक स्वास्थ्य संस्थामा आऊन् भन्ने पनि उद्देश्य रहेको उनको भनाइ छ । उनले सनेटरी प्याड लिन आएका महिलाहरूलाई महिनावारीका बारेमा जानकारीसँगै सरसफाइ र स्वास्थ्यका बारेमा पनि जानकारी दिने काम भइरहेको ढकाल बताउँछिन् ।
नगरपालिकाले १८ वटा स्वास्थ्य संस्थाबाट प्याड वितरण गरिरहेकाे छ । नगरपालिकाको तथ्याङ्कअनुसार अहिलेसम्म १७ हजार महिलाले स्वास्थ्य संस्थाबाट सेनेटरी प्याड लिएका छन् । सरसफाइको क्षेत्रमा पछिल्लो समय किशोरी तथा महिलाहरूमा चेतना बढेको अभियन्ता बताउँछन् । वीरेन्द्रनगर नगर अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज सीता शर्माले पहिलेको तुलनामा त धेरै परिवर्तन भएको बताइन । महिनावारी बार्ने चलनमा पहिलेको तुलनामा केही फड्को मारेको उनको बुझाइ छ । गाेरखापत्र दैनिकमा समाचार छ ।










पत्रपत्रिका । २०७८ आश्विन ४, सोमबार