एप्पलले बन्द गर्दैछ आइफोन मिनी

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले गत वर्ष आइफोन १२ सिरिजमा पहिलोपटक सानो आकारको iphone 12 mini सँगै मिनी मोडेलको सुरुवात गरेको थियो ।आ इफोन मिनीलाई एप्पलले आफ्नो हालै सार्वजनिक भएको आइफोन १३ मा पनि निरन्तरता दिएको छ ।

तर एक समाचार अनुसार आइफोन मिनी १३ नै आइफोनको मिनी मोडेलको अन्तिम संस्करण हुनेछ । अर्थात् एप्पलले आइफोन मिनी मोडेल बन्द गर्ने भएको छ । यो सँगै आगामी वर्ष बजारमा आउनेछैन ।

कतिपय रिपोर्टहरुका अनुसार एप्पलले आइफोनको मिनी मोडेलबाट खासै फाइदा उठाउन सकेन । प्रयोगकर्ताहरुले आइफोनका अन्य मोडेलको तुलनामा मिनी मोडेललाई कम मात्रै रुचाएको पाइएको छ । गतवर्ष लञ्च भएको आइफोन १२ मिनीको बिक्रि पनि खासै राम्रो रहेन ।

त्यसैले आइफोन मिनी मोडेललाई बजारमा ल्याएको दुई वर्षमै अन्त्य गर्ने निर्णयमा एप्पल पुगेको बताइएको छ । यद्यपि यस विषयमा एप्पलले कुनै आधिकारिक घोषणा भने गरिसकेको छैन ।

एप्पलका प्रडक्टका बारेमा खुलासा गर्ने तथा विवरणहरु दिने टिप्सटर जोन प्रोसेरका अनुसार एप्पलले आगामी वर्ष आइफोन १४ मिनी लञ्च नगर्ने निर्णय गरिसकेको छ ।

त्यसैले आइफोन मिनी मोडेलका रुपमा आइफोन १३ मिनी नै अन्तिम आइफोन हुनेछ । यदि तपाइँलाई आइफोनको मिनी मोडेल मन पर्दछ भने तपाइँका लागि आइफोन १३ खरीद गर्ने अन्तिम मौका हुनेछ ।

प्रोसेरका अनुसार आगामी वर्ष सन् २०२२ मा एप्पलले आइफोन १४ सिरिजका ३ वटा मोडेल मात्र सार्वजनिक गर्नेछ । हाल आइफोन १३ मिनीको सुरुवाती मूल्य ६ सय ९९ डलर रहेको छ ।

तपाईको प्रतिक्रिया