कर्णालीमा कोरोना संक्रमण दर उच्च, जोखिम छँदै हेलचक्य्राइँ

हिमाली जिल्लामा १८ वर्षमाथिका सबैलाई खोप

सुर्खेत। कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको जोखिम कायमै छ । कर्णालीका सबैजसो जिल्लामा दैनिक नयाँ संक्रमित भेटिने क्रम रोकिएको छैन । प्रदेशमा अहिले पनि संक्रमण दर सरदर २५ देखि ३० प्रतिशत हाराहारीमा छ । बुधवार प्रदेशभर एक सय ३४ जनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको छ । यो कूल परीक्षणको ३२ प्रतिशत हो । अघिल्लो दिन मंगलवार १२ जनामा संक्रमण देखिएको थियो । ४५ जनाको कोभिड जाँच गर्दा सो संख्यामा संक्रमित फेला परेका थिए । उक्त दिन परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको उच्च जोखिम रहेकै बेला हेलचक्य्राइँ भने बढ्दो छ । पछिल्लो समय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडिएको छ । मानिसहरूले संक्रमणबाट बच्न सावधानीका उपाय नअपनाउने गरेका हुन् । स्वास्थ्य सतर्कतामा लापरबाही मात्र भएको छैन कोरोना परीक्षण गर्नेहरूको संख्यामा समेत कमी आएको छ । तर, परीक्षण गरिएकामध्ये ठूलो संख्यामा संक्रमण फेला पर्ने गरेको छ । स्वास्थ्य संस्थाहरूले पनि परीक्षणको दायरा घटाएका छन् । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको मात्र परीक्षण गर्ने गरिएको हो ।

चिकित्सकहरूका अनुसार कर्णालीमा कोरोना संक्रमणको जोखिम अहिले पनि उस्तै छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले संक्रमणको जोखिम नटरेको बताए । उनका अनुसार पछिल्ला केही सातायता संक्रमणका कारण सिकिस्त हुने बिरामीको संख्या भने घटेको छ । मंगलवारसम्म प्रदेश अस्पतालमा ६ जना कोभिड संक्रमित उपचाररत छन् । ‘अस्पताल भर्ना हुने बिरामी न्यून छन्,’ निर्देशक डा. खड्काले भने, ‘संक्रमणको जोखिम भने उच्च छ ।’

गएको वैशाख–जेठमा कर्णालीमा कोराना संक्रमण दर निकै माथि पुगेको थियो । संक्रमितको चाप अत्यधिक हुँदा अस्पतालहरूमा बेड नपाइने अवस्था थियो । त्यसबेला प्रदेशमा संक्रमण दर ९० प्रतिशतसम्म पुगेको हो । स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावमा अस्पतालहरूले बिरामीको चाप थेग्न सकेका थिएनन् । त्यसयता विस्तारै ओरालो झरेको संक्रमण तीज पर्वका बेला फेरि उकालो लाग्यो । चाडपर्वमा भिडभाड बढेका कारण संक्रमण पुनः बढेको हो । तीजपछि कर्णालीमा संक्रमण दर स्थिर छ । डा. खड्काले अहिले पनि जोखिम रहिरहेकाले हरेक व्यक्तिले स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने बताए । उनी भन्छन्, ‘थोरैमा परीक्षण हुँदा संक्रमितको संख्या कम देखिएको हो । जोखिम नै नभए जसरी लापरबाही नगरौँ । फेरि जटिल अवस्था आउन सक्छ ।’

प्रदेशमा हालसम्म ३३ हजार चार सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३१ हजार पाँच सय ७० जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क छ । संक्रमितमध्ये तीन सय ७७ जनाको ज्यान गएको छ । असारदेखि मृत्युदरमा कमी आएको हो । त्यसअघि एकैदिन १२ जनासम्म कोरोना संक्रमितको ज्यान गएको थियो ।

दसैँ–तिहार जस्ता ठूला चाड नजिकिएसँगै मानिसहरूको भिडभाड बढ्न थालेको छ । सार्वजनिक स्थलहरूमा सुरक्षा सावधानी नभएकाले संक्रमण फैलिने खतरा बढी छ । पछिल्लो समय प्रदेशभित्रिने सीमा नाकाहरूमा कडाइ गर्न छोडिएको छ । विगतमाजस्तो अहिले नाकाहरूमा जाँच नहुने गरेको हो । चाडबाडको समय भएकाले भारतलगायत देशका विभिन्न सहरहरूबाट कर्णाली आउनेको संख्या दिनहुँ बढ्दो छ । विना सावधानी आवतजावत भइरहकाले यतिबेला संक्रमण बढ्न सक्ने चिकित्सकहरूको आकलन छ । उनीहरूका अनुसार कर्णालीमा संक्रमणको तेस्रो लहरको खतरा उच्च छ ।

प्रदेशमा पहिलो र दोस्रो लहरमा ज्येष्ठ नागरिक र वयस्क व्यक्तिहरू संक्रमणका कारण बढी प्रभावित भएका थिए । तेस्रो लहरमा बालबालिकाहरू प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । हरेक अस्पतालमा स्वीकृत शैड्ढयाको कम्तीमा २० प्रतिशत बालबालिकाको उपचारका लागि छुट्याउन सरकारी तथा निजी अस्पतालहरूलाई भनिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरी बालबालिकालाई प्राथमिकतामा राखेर तेस्रो लहरको नियन्त्रणका लागि पूर्वतयारी थालिएको बताउँछन् । त्यसका लागि निर्देशनालयले प्रदेशका सबै स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरिरहेको छ ।

प्रदेशभर कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन भइरहेका छन् । सूचना अधिकारी चौधरीले हिमाली जिल्लामा १८ वर्षमाथि उमेर समूहका सबैलाई खोप दिने काम भइरहेको बताए । चीनसँग सीमा जोडिएका क्षेत्रहरूमा बढी सतर्कता अपनाइएको उनको भनाइ छ । अहिले जुम्ला, हुम्ला र डोल्पामा कोरोनाविरुद्धको खोप लगाइँदै छ । प्रदेशका दैलेख, रुकुुम–पश्चिम र सल्यानमा अक्सिजन प्लान्ट स्थापनाका कामहरू पनि भइरहेका छन् । प्रदेश अस्पतालमा मेडिकल अक्सिजनका एक हजार थान सिलिन्डर स्टक राखिएको निर्देशनालयले जनाएको छ । हाल सबै जिल्लामा स्वास्थ्य सामग्री पर्याप्त रहेको निर्देशनालयको दाबी छ ।साझा बिसाैनी दैनिकमा समाचार प्रकाशित  छ ।

तपाईको प्रतिक्रिया