सडक पुगेसँगै हटारूकाे दु:ख हटे

कालीकोट । कालीकोट जिल्लाका ८२ वटा वडामध्ये धेरैजसो वडामा सडक पुगेको छ । अहिले सडक यातायातमार्फत दैनिक उपभोग्य वस्तु सहरबाट गाउँमा ल्याउने गरिएको हाे । गाउँगाउँमा सडक पुगेपछि भारी बोकेर उपभोग्य तथा अन्य सामग्र ल्याउने हटारुका दु:ख पनि हटेका छन् ।

सांकेतिक तस्वीर स्राेत : नयाँ विश्व

२०५८ सालसम्म कैलालीको चिसापानी, सुर्खेतको वीरेन्द्रनगरसम्म पैदल पुगेर कालीकोट, जुम्ला, मुगुलगायत कर्णालीका बासिन्दाले दैनिक उपभोग्य वस्तु खरिद गरी ल्याउने गर्दथे । सडक पुगेर गाडी सञ्चालनमा आएपछि अब महिनौँ लगाएर पिठ्युँमा सामान बोक्नुपर्ने हटारुको दुःख हटेको हो ।

कालीकोटका बासिन्दा सुरुमा बाँकेको नेपालगञ्ज र बर्दियाको राजापुरबाट दैनिक उपभोग्य वस्तु आयात गर्थे । कम्तीमा १० देखि १५ दिन लगाएर सामान बोकेर ल्याउनुपर्ने बाटो अहिले एक दिनमा छोटिएको छ । गाउँगाउँमै सडक पुगेपछि बजार पनि विस्तार भएको छ । यातायातका साधनहरू चलेपछि उपभोग्य वस्तु पनि घरनजिकै पाइन थालेको रास्कोट नगरपालिका-२ का जन्म सिम्खडाले बताए ।

उनले विगतमा बर्दियाको राजापुर पुगेर भारी ल्याएको स्मरण गर्दै त्यो बेलाको दुःख निकै कष्टदायी भएको बताए । सामान लिन जाँदा बीचमा बास बस्नुपर्ने भन्दै उनले त्यहाँ खाने वस्तुको जोहो पनि आफैँले गर्नुपर्ने उल्लेख गरे । विगतको तुलनामा अहिले निकै सहज भएको र त्यो काम गाउँमा सडक पुग्दा भएको उनको ठम्याइ छ ।

यसैगरी हाट जाँटा दुख मात्र होइन, रमाइलो पनि हुने गरेको सम्झन्छन् रास्कोट नगरपालिका-१ का कृष्ण न्यौपाने । ७५ वर्षीय न्यौपानले पहिलो पटक २०२१ सालमा बर्दियाको राजापुरमा सामान लिन गएको अनुभव सुनाए । वर्षभरिको सामान ल्याउन बाबुसँगै आफू पनि हाट गएको उनको स्मृति ताजै छ । उनका अनुसार राजापुरबाट भारी बोकेर घर ल्याउन २१ दिन लागेको थियो । छिटो हिँड्ने भए १९ दिनमा पनि आउन सकिने भन्दै उनले आफूहरू २०/२१ दिनमा घर आएको बताएकाे खवर गाेरखापत्रमा दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया