कालीकोट । जिल्लाका नौ वटै स्थानीय तहले बनाएका जोखिमपूर्ण ग्रामीण सडकमा दुर्घटनाको त्रास छ । डोजरले विकास र वातावरणीय अध्ययनबिना हतारमा खनिएका ती सडक यात्रा गर्न जोखिमपूर्ण छन् । त्यस्ता जोखिमपूर्ण सडकमा ट्याक्टरलाई यात्रुवाहक साधनका रूपमा चलाउँदा त्रास बढेको हो ।
पलाँता गाउँपालिका–२ का समुनकुमार बमले कर्णालीमा पुल नभए पनि ट्याक्टर गाउँमा पुगेको बताए । हिउँदको समयमा कर्णालीमा पानीको मात्रा कम भएका बेला तारिएका ट्रयाक्टरले अहिले पलाँतामा काम गरिरहेका छन् । ट्याक्टरको ट्रलीमा यात्रु राखेर थिर्पुदेखि राँडुनेटा, खाँडागाउँ, सैन, पाराैटीसम्म ट्याक्टर सञ्चालन गरिएको छ ।
पलाँता गाउँपालिकाले पनि २०७६ साल फागुन १ गते आफ्नै पलाँता यातायात सञ्चालन गररेको थियो । चार वटा गाडी किनेको पालिकाले दुईवटा गाडी कर्णाली वारि र दुईवटा गाडी कर्णालीपारि तारेर यातायात सेवा सञ्चालन गरेको थियो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले वर्षाको पानी र भिरालो जमिन भएकाले सडक भत्किने र यातायात सञ्चालन गर्न कठिन भएको बताए ।
जोखिमपूर्ण सडकका कारणले गाडी धेरै चल्न सकेका छैनन् । डोजरले खनेका सडकको स्तराेन्नति नहुँदा ट्याक्टर बाहेक अन्य साधन ती सडकमा सञ्चालन हुँदैनन् । भौगोलिक रूपमा केही राम्रो मानिएको रास्कोट नगर पालिकाभित्रका सडकमा समेत सहज तरिकाले यात्रुवाहक गाडी चल्न सक्दैनन् ।
बाढीले सडक बगाएका कारणले रास्कोट नगर पालिकाभित्रको मूल सडकदेखि वडासम्म जाने सहायक सडकमा दुई पाङ्ग्रे मोटर साइकल र ट्याक्टरमात्र चलाइने गरिएको छ । रास्कोट नगरपालिका–१ का हर्कबहादुर बमले पैदल जाँदा समय धेरै लाग्नेहुँदा ट्याक्टरमा जोखिमपूर्ण यात्रा गरेर छिटो जानुपर्ने बाध्यता रहेको बताए । सोही ठाउँका अबिसरा भण्डारीले उकालो बाटोमा भारी बोके र जान कठिन हुने भएकाले पनि ट्याक्टरमै चढेर जाने गरेकाे बताए । गाउँपालिकाले निर्माण गरेका ती सडकमा यात्रुवाहक गाडी सहज सञ्चालन हुने अवस्था छैन् गाेरखापत्र दैनिकमा समाचार छ ।
पत्रपत्रिका । २०७८ आश्विन १६, शनिबार