५० जनालाई राेजगारी दिने कर्णालीकै पहिलो कर्णाली मल, लागत २२ करोड

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कायम भएपछि व्यापारिक क्षेत्रमा उल्लेख्य लगानी भित्रिरहेको छ । परम्परागतशैलीमा गरिँदै आएको व्यापार उपभोक्ताहरुको चाहनाअनुसार आधुनिकशैलीमा रुपान्तरण गर्ने क्रम पनि बढेको छ । त्यसैको पछिल्लो उदाहरण हो कर्णाली मल । यो कर्णालीको पहिलो मल हो ।

झण्डै २२ करोड लागतमा सञ्चालनमा आएको मलको बिहीबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका छन् । ‘विकास भनेको सडक निर्माण गर्नुमात्रै हैन्, आम नागरिकहरुलाई सन्तुष्टि दिन र रोजगारीसहितको व्यवसायीक विकास पनि जरुरी हो,’ मलको उद्घाटनपछि मुख्यमन्त्री शाहीले भने, ‘व्यवसाय आधुनिकशैलीमा रुपान्तरण गरेर अहिलेका नागरिकहरुको आवश्यकतामा आधारित मल सञ्चालन गर्नु राम्रो पक्ष हो ।’

मुख्यमन्त्री शाहीले कर्णालीमा ठूलो लगानीमा नीजि क्षेत्रले थालेको यो प्रयास प्रशंसनिय रहेको उल्लेख गरे । नीजि क्षेत्रको साथविना सरकार एक्लै केही गर्न नसक्ने भन्दै मुख्यमन्त्री शाहीले नीजि क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको र आगामी दिनमा थप सहुलियत प्रदान गर्ने प्रतिवद्धता जनाए ।

५० जना रोजगार
कर्णाली सरकारले हालसम्म रोजगार प्रदान गर्न सकिरहेको छैन् । तर नीजि क्षेत्रबाट सञ्चालित कर्णाली मलमा ५० जनाले रोजगारी पाएका छन् । कर्णालीबासीहरुलाई हस्पीटालिटी भएको उच्चस्तरिय समान सस्तो मुल्यमा प्रदान गर्न मल सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक सुशील शर्माले नेपालीरैबारलाई जानकारी दिए ।

उनकाअनुसार मलमा पर्व लक्षित १० प्रतिशत छुट अफर सञ्चालन गरिएको छ । मलमा गोश्वरी, भाडाकुडा, लत्ता कपडाको सबै भेराइटी, खेलौना, इलेक्ट्रोनिक सामग्रीहरु विक्री वितरण गर्दै आएको छ । साथै, मलले उपभोक्ताहरुका लागि होटल पनि सञ्चालन गरेको छ । ‘सम्पूर्ण सामानहरु एकै ठाउँबाट प्रदान गर्ने उदेश्यले मल सञ्चालनमा ल्याएका हौं,’ सञ्चालक भरत ढकालले भने, ‘कतिपय व्यक्तिमा मलमा सामान महंगो पर्छ भन्ने भ्रम रहेकाले त्यो गलत भएको बताउँदै उच्च स्तरिय सबै प्रकारका सामानहरु हामीले सस्तो दरमा उपलव्ध गराइरहेका छौं ।’गत वर्ष कार्तिक १५ गतेबाट सञ्चालनमा आएको मल कोरोना महामारीको सामान गरेपछि औपचारिक रुपमा आजदेखी सञ्चालनमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया