सुर्खेत । आइतबारदेखी शुरु भएको वर्षाले कर्णाली प्रदेशसहित पश्चिम नेपालका क्षेत्रहरु प्रभावित बनेका छन् । लगातारको वर्षाका कारण दैनिकी कष्टकर बनेको छ भने वर्षा हुने क्रम अझै रोकिएको छैन् । कर्णाली प्रदेशको कालीकोटमा पछिल्लो २४ घण्टामा सर्वाधिक वर्षा भएको मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागको कर्णाली वेसिनले गरेको वर्षा मापनमा कालीकोटको मान्ममा पछिल्लो २४ घण्टामा ११३ मिलिमिटर वर्षा भएको छ । तर कर्णाली वेसीनले नै मापन गर्ने सुदूरपश्चिम प्रदेशको बाजुरामा ११४ मिलिमिटर वर्षा भएको छ ।
जाजरकोटको रिम्नामा ३९, ताल्चा विमानस्थलमा ७२, जुम्ला ६६, जाजरकोटमा ४५, सुर्खेत विमास्थलमा ६४, मैनागाउँ जाजरकोटमा ६८, जगतिपुर जाजरकोटमा ९३, डाडाँगाउँ ७१, शेरागाउँ रुकुमपश्चिममा २१, मुसीकोटमा २७, दैलेखमा ६५, सिमिकोट हुम्लामा १०४, सल्यानमा ८४, रातानाङ्गलामा १०४, गोठीकाँडामा ८९ मिलिमिटर वर्षा मापन भएको छ ।
कर्णालीसहित सुदूरपश्चिमका ११ वटा स्थानमा अत्यधिक वर्षा भएपछि नदीमा जल सतह खतराको तहमा पुग्न लागेकाले बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । महाशाखाले जारी गरेको सूचनामा बैतडीको सान्तवाँजमा १८०, डडेलधुरामा २०६, सोही जिल्लाको साहुँखर्कमा ३४३, जोगवुडामा २०३, गाइबान्देमा २०६, चौरबण्डालेमा २०३, दिपायलमा १७६, बाजुराको ओजेनामा १५९, अछामको मंगलसेनमा १६३ मिलिमिटर वर्षा मापन गरिएको छ । यी क्षेत्रबाट भएर बग्ने साना र ठूला नदीहरुमा बाढीको सतह बढ्न सक्ने भएकाले नदी तटिय क्षेत्रका नागरिकहरुलाई सतर्कता अपनाउन अपिल गरिएको छ ।
सुशील खड्का । २०७८ कार्तिक २, मंगलवार