विशेष प्रकाशकीय

वडा दशैँको शुभकामना !

वडा दशैं २०७८ को आज फूलपाति हो । नेपालीहरुको घर आँगनमा घटस्थापनापछि दशैंको चहलपहल शुरु हुन्छ। दशैं वर्ष दिनको कामबाट केहीदिन भएपनि फुर्सद, पारिवारिक जमघट, इष्टमित्र साथीभाईसँगको भेटघाट, मिठो खाने, राम्रो लगाउने चाडको रुपमा नेपालीले मनाउने हो। करिब ८० प्रतिशत हिन्दु धर्मावलम्वीहरु रहेको हाम्रो देशमा परम्परागत रुपमा दशैंको विशेष महत्व छ । दशैलाई रावणमाथि रामको अर्थात् असत्यमाथि सत्यको विजयको रुपमा मनाउने पर्वको रुपमा लिइन्छ । कृषि प्रधान देश नेपालमा कृषि कार्यबाट कृषकहरुले फुर्सद पाउने यो समयमा दशैं मनाउनुको छुट्टै महत्व पनि छ । दशैंको चहलपहलसँगै अधिकांश केही गाउँघरमा फर्किसकेका छन् भने केही फर्कने क्रममा छन् । गाउँको माहोल रमाइलो बन्दै छ । चाडबाडले वर्षभरी छुट्टीएकाहरु अनिवार्य घर पुग्ने गर्दछन् ।

तर समय सदा एकैनास र एकै गतिमा रही रहन सक्दैन । समयको काल खण्डले नेपाल र नेपालीलाई मात्र होइन विश्वने अहिले विषयम परिस्थितबाट गुजिरहेको छ । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) सँग अहिले पनि नेपाल लडिरहेको छ । दशैँको रौनक लागेपनि कतिपय आज पनि अस्पतालको शैयामा उपचारार्थ छन्। पहिलो चरणको कोरोना मत्थर हुँन नपाउँदै दोस्रो चरणको कोरोनाले नेपालीहरुलाई नराम्रोसँग प्रभावित बनाएको छ । हर्ष र खुसियालीको पर्व दशैं मनाइरहँदा कोरोना महामारीबाट जोगिन पनि उत्तिकै चुनौती छ। तसर्थ यो महामारीलाई परास्त गर्न सबै जहाँ भएपनि उच्च सावधानी अपनाएर स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा लागु गर्दै दशैं मनाउन जरुरी छ । यसको अर्थ हामी महामारीको जोखिमबाट मुक्त भएका छैनौं । बरु, उच्च जोखिममा छौ। यस्तो बेला संक्रमणबाट आफू जोगिने र अरुलाई जोगाउने दायित्व हरेक नागरिकको हो ।

तर, जीवनसँगै जिविका चलाउने नीतिले लकडाउन र निषेधाज्ञाबाट खुला भएको अवस्थामा सबैको ध्यान चाडपर्व मनाउनेतिर समेत तानिएको छ। दशैं आफैमा पनि जमघट हुने संस्कृति हो। आफन्तकोमा जाने र ठूलाबडाको हातबाट आशिर्वाद लिने पर्व दशैले यसपटक भने भौतिक दूरी कायम गर्नुपर्ने नियती भेल्दैछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमणको उच्च खतरा रहेको भनिएका वृद्ध अवस्थाका परिवारको सदस्यका हातबाट दशैं टीका थाप्नुपर्ने हुन्छ । अर्थात् यसपटकको दशैं टीकाले संक्रमणको भय पनि कायमै छ । तसर्थ, यसपटकको दशैं बडो सतर्कताका साथ मनाउनु नै उचित हुनेछ। कोरोना खोपलाई पनि सरकारले उच्च प्राथमिकता दिन जरुरी छ । विस्तारै संक्रमणको जोखिम घटेर जान सक्छ । त्यसैले यसपटकको दशैंमा सकेसम्म जमघट धेरै नगरेर मनाओं । यसपटक भने संक्रमणबाट जोगिनलाई सतर्कतापूर्वक दर्श मनाओं विजया दशमी २०७८ को बडा शुभकामना !

(अध्यक्ष) नविनकुमार सुवेदी

 

तपाईको प्रतिक्रिया