चुनावमा मिल्नसक्ने सबै पार्टीसँग तालमेल हुन्छ, एमालेसँग हुँदैन – प्रकाश ज्वाला {अन्तर्वार्ता}

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि फेरिएको राजनीतिक परिस्थितिले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल, नेकपा एमाले विभाजित भयो। एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको एक घटक हो। देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने बेलासम्म एकीकृत समाजवादी पार्टी गतिविधिका हिसाबले निकै सक्रिय थियो। तर, पछिल्लो समय पार्टीका गतिविधि शुन्यप्राय: छन्।दुई–दुई पटक विघटन भएर पुन:स्थापित प्रतिनिधि सभाको कार्यकाल करिब १ वर्ष मात्रै बाँकी रहँदा र स्थानीय तहको निर्वाचन गर्नुपर्ने मिति नजिकिँदै गर्दा नवगठित एकीकृत समाजवादी राजनीतिक गतिविधिका हिसाबले अपेक्षित रुपमा किन सक्रिय हुन नसकेको होला? नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालासँग यीनै विषयमा गरेको  कुराकानी:

नवगठित पार्टीले राजनीतिक हिसाबले जुन सक्रियता देखाउनुपर्ने हो, एकीकृत समाजवादीमा त्यस्तो सक्रियता नदेखिएको आम विश्लेषण भइरहेको छ। तपाईंहरु अहिले अरु के कुरामा व्यस्त हुनुभयो?
नयाँ पार्टी दर्ता भएपछि संगठनात्मक संरचना निर्माणमा जुटेका छौं। भर्खरै केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयको बैठक बसेर संगठनात्मक संरचनाहरुलाई पूर्णता दिने काम भयो। केन्द्रीय कमिटी विस्तार गरेर पूर्णता दियौं। केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् लगायतका निकायहरुलाई पूर्णता दियौं। त्यसपछि ३ महिने कार्ययोजना प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार, प्रशिक्षण, पार्टी सदस्यता वितरण र जनसंगठनका सम्मेलनमा लागेका छौं। केन्द्रदेखि स्थानीय तहसम्म पार्टी कार्यालय व्यवस्थापन गर्ने काममा लागेका छौं। अहिले केन्द्रीय संचरनालाई र तल्ला कमिटीलाई पूर्णता दिन कार्ययोजना बनाएका छौं।

अब हामी राष्ट्रिय सम्मेलनको तयारी गर्ने छौं। त्यसका लागि मुख्य कुरा दस्तावेजहरु तयार गर्ने हो। त्योभन्दा अघि विधान र नियमावलीलाई फाइनल गरेर प्रकाशन गर्ने छौं। राष्ट्रिय सम्मेलनका लागि राजनीतिक, संगठनात्मक प्रतिवेदन लगायतका दस्तावेजहरु तयार गर्न समिति बनाएका छौं। त्यो समितिले ती प्रतिवेदनहरु तयार गर्ने छ। राष्ट्रिय सम्मेलन कहिले गर्ने भनेर मिति तोकिएको छैन। पार्टी सचिवालय वा स्थायी कमिटी बैठक बसेर राष्ट्रिय सम्मेलनको मिति तोक्ने छ।

पार्टी सरकारमा जाने भन्ने भएपछि आन्तरिक छलफल लगायतका गतिविधि निकै बढेका थिए। सरकारमा सहभागी भइसकेपछि भने खासै केही गतिविधि देखिँदैनन्, यस्तो किन?
हामी मुलत: पार्टीको आन्तरिक काम चुस्त बनाउन लागेका छौं। आन्तरिक काम व्यवस्थित र चुस्त नगरेर अरु गतिविधि गर्न सकिँदैन। त्यसकारण मुख्य कुरा केन्द्रीय कमिटी र केन्द्रीय निकायलाई पूर्णता दिनेमा केन्द्रित छौं। पार्टी काम गर्न मुख्यतया विधान चाहिने हो। त्यसका लागि विधान नियमावली तयार गर्नमा केन्द्रित भयौं। त्यसपछि सार्वजनिक गतिविधिहरु बढ्दै जाने छन्।

एमालेका नेताहरुले एकीकृत समाजवादी एमालेको ‘भाइ पार्टी’ हो भनेर पनि टिप्पणी गर्छन्। राजनीतिक र वैचारिक रुपमा एमालेभन्दा एकीकृत समाजवादीलाई कसरी फरक बनाउनु हुन्छ?
एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेका दस्तावेजहरु छन्। त्यसले निकालेका निष्कर्षहरु सही थिए। त्यसको उल्लंघन गर्ने काम पार्टी नेतृत्वबाट भयो। त्यो बेठिक काम भयो भन्ने निष्कर्ष हो। त्यतिबेला भएका सही कामलाई संरक्षण गर्ने भनेका छौं। त्यतिबेलाका जनताका अजेण्डाहरु अझ व्यवस्थित बनाउँदै लैजानु पर्छ भन्ने छ। एकीकृत समाजवादीलाई हामीले राजनीतिक, वैचारिक, संगठनात्मक, कार्यशैलीगत रुपमा एमालेभन्दा फरक पार्टी बनाउँछौ। यो पार्टीलाई देशको सशक्त वैकल्पिक कम्युनिस्ट शक्ति बनाएर छोड्छौं। हाम्रा नीति, विचार, कार्यक्रम र गतिविधिलाई जनताले भोलि एमालेभन्दा भिन्न र असल पार्टी हो भन्ने अनुभुति गराउनेगरी पार्टी बनाउने छौं।

पार्टी संगठन विस्तार र सुदृढिकरणमा लाग्दा आम कार्यकर्ता र जनतामा कत्तिको उत्साह पाउनुभएको छ?
नयाँ पार्टी निर्माण भएपछि धेरै उत्साहित छौं। एक ढंगले चुनौती पनि छ। ती चुनौतीलाई पार लगाउने शक्ति हामीसँग छ। हामीले जति पनि कार्यक्रम गर्‍यौं, ती कार्यक्रमले उत्साहित बनाएको छ। देशैभर प्रदेश सभाका सदस्यहरुको सनाखत् गर्दा होस् वा पार्टीका अन्य गतिविधिलाई हेर्दा, धेरै उत्साहित छौं।

अहिले सुदुरपश्चिममा पहिलो पार्टीको रुपमा स्थापित भएका छौं। अरु प्रदेशमा पनि निर्णायक शक्तिको रुपमा छौं। जनस्तरका कार्यक्रममा कार्यकर्ताको उपस्थिति हेर्दा राम्रो देखिएको छ। हामीले शसक्त रुपमा पार्टीलाई अगाडि बढाउन सक्छौं भन्ने आत्मविश्वास बढेको छ।

तपाईंहरुले पार्टी पदाधिकारीदेखि केन्द्रीय कमिटी ठूलो र भद्दा खालको बनाउनुभयो। सरकारमा विवादित खालका व्यक्तिहरुलाई पठाउनुभयो। यस्तो अवस्थामा कसरी बलियो र व्यवस्थित पार्टी बनाउनुहुन्छ?
पार्टी पदाधिकारीको संख्या बढी नै भएको छ। पार्टी निर्माणको संकटकालीन अवस्थामा जतिसुकै कम्प्रोपाईज गर्न खोज्दा पनि कम पदाधिकारी बनाउन सकेनौं। पार्टीका वरिष्ठ नेतादेखि भौगोलिक, सबै जातजाति र लिंगको प्रतिनिधित्व गराउनु पर्ने भएपछि पदाधिकारी अलि ठूलो भयो। यस्तो हुँदा पदाधिकारी र केन्द्रीय कमिटी ठूलो जस्तो देखिएको छ। त्यसलाई हामीले महाधिवेशनबाट व्यवस्थित गर्दै जाने छौं।

तपाईंहरुको भनाइअनुसार पार्टीलाई बलियो र व्यवस्थित बनाउनु पर्ने छ, चुनाव पनि जित्नु पर्ने अवस्था छ। आगामी चुनावमा अरु पार्टीसँग तालमेल र एकता हुने सम्भावना कति छ?
हामीले घोषित रुपमै भनेका छौं– मिल्न सक्ने शक्तिहरुसँग मिलेरै चुनावमा जाने छौं। त्यसमा वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग चुनावमा तालमेल गरेर जाने छौं। त्यसबाट पार्टीलाई बलियो बनाउने छौं। मिल्न सक्ने शक्तिहरुसँग मिलेर जाने छौं।

एमालेसँग तत्काल चुनावी तालमेल हुने सम्भावना छ कि छैन?
एमालेसँग तत्काल चुनावी तालमेल हुने सम्भावना छैन।

(नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी)

तपाईको प्रतिक्रिया