सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहना पुरा हाेला?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०मा १०औं महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनअघि एमालेले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा सर्वसम्मत त कतिपय ठाउँमा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । केही ठाउँमा बाँकी रहेका अधिवेशन कात्तिक मसान्तभित्र सक्नुपर्ने निर्देशन पनि एमालेले दिइसकेको छ ।

१०औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको एमाले अब क्रमशः जिल्ला, प्रदेशको अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारीमा छ । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ ।

एमाले १०औं महाधिवेशन

बिहीबार बसेको स्थायी कमिटीको बैठकले वडा, पालिकास्तरको अधिवेशनको समीक्षाका साथै महाधिवेशन प्रतिनिधि चयनको मापदण्डबारे छलफल गरेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । शुक्रबार केन्द्रीय कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्न केन्द्रीय कमिटीको बैठक बस्नेछ । अन्तिम र एकअर्को केन्द्रीय कमिटीको बैठक महाधिवेशनको पूर्वसन्ध्यामा बस्नेछ ।

१०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ । नवौं महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने थियो ।

तर, प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गर्दै आगामी फागुनमा ७० वर्ष पुग्न लागेका ओलीका लागि सहज बनाइएको छ । ७० वर्ष नपुग्दै कुनै नेता कुनै पनि पदमा निर्वाचित भएपछि बीचमै सक्रिय राजनीतिबाट बिदा नभई पूरा कार्यकाल जिम्मेवारी वहन गर्न पाउनेगरी भएको व्याख्या विशेषतः ओलीकै लागि हो ।

यद्यपि अध्यक्ष ओलीले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा अझै गरेका छैनन् । तर, उनीनिकटका नेताहरू आगामी महाधिवेशनमा ‘ओलीको विकल्प ओली’ नै भएको बताउँछन् ।

एमाले स्थायी कमिटीका सदस्य एवं ओली निकटका नेता शंकर पोखरेल आगामी महाधिवेशनबाट अध्यक्षमा ओली र आगामी निर्वाचनबाट प्रधानमन्त्रीमा ओली नै हुने बताउँछन् । सार्वजनिक कार्यक्रममा समेत उनीनिकट नेताहरूले ओलीको विकल्प एमालेमा नभएको ठोकुवा गर्दै आएका छन् ।

आठौं र नवौं महाधिवेशनबाट दुईपटक महासचिवमा निर्वाचित ईश्वर पोखरेलले समेत आगामी महाधिवेशनबाट ओली नै अध्यक्ष हुने संकेत गरेका छन् । आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका महासचिव पोखरेलले यदि ओली पुनः अध्यक्षको उम्मेदवार भए आफू उम्मेदवार नहुने बताउँदै आएका छन् ।

हालै सम्पन्न वडा र पालिकास्तरको अधिवेशनबाट निर्वाचित अधिकांश ओली निकटका नेताहरू मात्रै रहेका छन् । एकाधबाहेक सबै ठाउँमा ओलीनिकट भनेर चिनिएका नेताहरू मात्रै निर्वाचित भएका छन् ।

‘वडा र पालिकास्तरको अधिवेशनमा ओलीनिकटका नेता भनेर चिनिएका मात्रै निर्वाचित भएका छन् । अब जिल्ला, प्रदेश तथा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पनि सोहीअनुसारका नेता चुनिनेछन् । ओलीलाई टक्कर दिने नेताहरू एमालेमा छँदै छैनन्, भएकाहरूको हैसियत नै पुग्दैन,’ ओलीनिकटका एक नेताले भने ।

ओलीसँग घनश्याम भिड्ने

एमालेको तल्लो कमिटीका अधिवेशनको परिणामअनुसार आगामी महाधिवेशनबाट ओली सर्वसम्मत अध्यक्ष हुन सक्छन् । उनलाई पराजित गर्न सक्नेगरी अन्य नेतासँग हैसियत पुग्दैन् । तर, उपमहासचिव घनश्याम भुसाल सर्वसम्मत कोही पनि अध्यक्ष हुन नसक्ने बताउँछन् ।

एमालेभित्र रहेको १० भाइ अर्थात् तेस्रो समूहबाट आगामी महाधिवेशनमा अध्यक्षमा भुसालले उम्मेदवारी दिँदै छन् । विभिन्न चाडपर्वको अवसरमा पत्रकारसँग केही दिनअघि कुरा गर्दै भुसालले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।

‘पार्टीको विधानअनुसार पदाधिकारी भएकाले अध्यक्षमा उम्मेदवारी दिन पाउँछन् । अहिलेको पदाधिकारीमध्येबाट अध्यक्षमा अर्को उम्मेदवारी हुन्छ । अध्यक्षका लागि हरेक दृष्टिकोणले म पनि योग्य रहेको छु’ उपमहासचिव भुसालले भने ।

तेस्रो धारमा रहेका तीन नेता उपाध्यक्ष छन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल अहिले एमालेको उपाध्यक्ष हुन् । ओलीबाहेक अर्को समूहबाट यी तीनमध्ये एक जनाले अध्यक्षमा उम्मेदवारी दिनुपर्ने हो । तर, तीनै जनामध्ये कसैले पनि उम्मेदवारी नदिने एमाले स्रोतले जनाएको छ । अहिलेको उपमहासचिव भुसालले नै अध्यक्षमा उम्मेदवारी दिने र केही दिनमै औपचारिक घोषणा पनि हुन लागेको छ ।

‘तल्लो तहको अधिवेशनको परिणाम हेर्दा आगामी अधिवेशनबाट ओलीनिकटका नै प्रतिनिधि बढी आउने निश्चितजस्तो देखिन्छ । तर, सर्वसम्मत अध्यक्ष हुन सक्दैनन्, हाम्रो समूहबाट घनश्याम कमरेडले अध्यक्षमा उम्मेदवारी दिनुहुन्छ,’ तेस्रो धारमा रहेका एक नेताले भने ।

१५३६ प्रतिनिधि सहभागी हुने

एमाले १०औं महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधि सहभागी गराउने निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सय जना पार्टी सदस्यबाट तीन जना प्रतिनिधि छनोट हुनेछन् । भूगोल कमिटीबाट कुल १ हजार १ सय ९६ जना प्रतिनिधि छानिनेछन् ।

बाँकी गैरभूगोलबाट ३ सय ४० जना गरी कुल १ हजार ५ सय ३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुलाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए । राजधानि दैनिकमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया