
बर्दिया। बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ ठाकुरद्वाराको स्थायी प्रशाककिय वडा कार्यालयको भवन निर्माणका लागि स्थानियले ७ कठ्ठा जग्गा दान गरेका छन्। ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ ठाकुरद्वाराले गत असोज ८ गते वडा कार्यालय निर्माण गर्नका लागि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वारालाई मुख्य केन्द्रबिन्दु तोकेर जग्गा दान गर्न चाहने दाताहरुलाई जग्गा दानका लागी अनुरोध सहितको सूचना प्राकाशित गरिएको थियो।
सुचना पश्चात ९ नम्बर वार्ड स्थायी निवासि स्थानीय ६ जना दिनेश चन्द्र गौतम, महेश चन्द्र गौतम, विमल कुमार शर्मा ढकाल, बल बहादुर बराइली, मेघ बहादुर विक र लोक प्रसाद खनालले जग्गा दानका लागि वार्ड कार्यालयमा निवेदन पेश गरेका थिए।
जग्गाको स्थलगत अवलोकन तथा निरीक्षण गर्न आधिकारिक निर्णयका लागि वार्ड अध्यक्ष राधा चौधरीको संयोजकत्वमा गठित कार्यदलले जग्गा दान दिने दाताहरुको निवेदनका आधारमा जग्गाको क्षेत्रफल, सुलभता र सहजता लगाएतका विषयमा रहेर अध्यन पश्च्यात एक आपसमा कित्ता जोडिएका ३ जना दाता निवेदकको जग्गा स्वीकार गर्ने निर्णय गरेको कार्यदलको संयोजक राधा चौधरीले बताउनु भयो।
ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ खुसलपटुवा निवासि पूर्व शिक्षक दम्पती द्वय दिनेशचन्द्र गौतम व्यवस्था कुमारी उपाध्यायले २ कठ्ठा, समाजसेवी महेशचन्द्र गौतमले २ कठ्ठा १० धुर र त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक विमल कुमार शर्मा ढकालले २ कठ्ठा १० धुर गरी जम्मा ७ कठ्ठा जग्गा वार्डको प्रशासकीय भवन निर्माणका लागि जग्गा दान दिनु भएको कार्यदल सदस्य रुद्र खड्काले बताए।
प्रशासकीय भवन निर्माणका लागि जग्गा दान दिनुहुने दातालाई वडा अध्यक्ष तथा कार्यदल संयोजक राधा चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो। वडाको समग्र विकासका लागि वडाको स्थायी प्रशासकीय भवनको नितान्त आवश्यक ठानी प्रकाशित सूचन अनुसार यहाहरुको चासो तथा महत्वपुर्ण सहयोगको उच्च प्रसंशा गर्दै अध्यक्ष चौधरीले दातालाई भोलिका पिढीले समेत सम्झिने गरी एउटा एतिहासिक कार्य गरेकोमा वडा कार्यालयले सदैव स्मरण गर्ने बताउनु भएको थियो।

हरिवंश पाण्डे । २०७८ कार्तिक १५, सोमबार