एमालेले आउँदा मंसीर १० देखि १२ गतेसम्म चितवनमा तामझामपूर्ण दशौं महाधिवेशन गर्ने तयारी गरिरहेको छ। तर, एमालेले लिने विचार, सिद्धान्त र नीतिका विषयमा असोजमै सम्पन्न विधान महाधिवेशनले टुङ्गो लगाइसकेको छ। त्यसकारण चितवनमा हुने महाधिवेशनमा एमालेका नेतृत्व चयन मात्रै हुने हो। र, यो महाधिवेशनमा केपी ओलीले जे चाहनुहुन्छ, त्यही हुन्छ।
त्यहीकारण अहिले भइरहेका चर्चा मात्र हुन्। महाधिवेशनस्थल चितवन बनाउनुको कारण पनि देखावटी चर्चा गर्न खोजिएको छ। महाधिवेशनमा के–के हुन्छ भन्ने अगाडि नै थाहा भइसकेको छ।
वडा, पालिका र जिल्ला नेतृत्व चयन सकेसम्म सर्वसम्मतिमा गर्ने भनिसकिएको छ। धेरै ठाउँमा त्यसरी नै नेतृत्वको टुंगो लगाइयो। त्यसलाई लोकतन्त्रको उच्चतम् अभ्यास भनियो। त्यसले अबको महाधिवेशनको संकेत दियो, जहाँ त्यसरी नै नेतृत्व चयन हुनेछ।
सबै विषय निर्धारित भएपछि लाखौँ खर्च गरेर महाधिवेशन गर्नुको साटो जुमबाटै गरे पनि हुन्थ्यो। तर, ओलीजी अरुलाई देखाउने सोचमा हुनुहुन्छ। उहाँ नै अध्यक्ष हुने हो। फलाना फलानालाई स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा ल्याउने भन्ने पूर्वनिर्धारित छ। अरु केही हुनेवाला छैन।
ओलीजी आठौँ महाधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो। नवौँ महाधिवेशनमा प्रतिस्पर्धाबाट जित्नुभयो। अब पार्टीमा प्रतिस्पर्धा नहुने उहाँले बताइसक्नु भएको छ। यदि, प्रतिस्पर्धा भए माओवादीबाट एमालेमा आएकाहरु पार्टी कमिटीमा पुग्दैनन्। एमालेमा उनीहरुको जित्ने आधार नै छैन। अर्को महत्वपूर्ण विषय चाहिँ सहमतिको रटान आफूलाई मन नपरेकालाई ‘माइनस’ गर्ने नियत पनि हो।
पार्टी भएपछि विवाद, मतमतान्तर हुन्छ। त्यो मानव स्वभाव हो। परिवारमा त मत–मतान्तर हुन्छ। बाबुको कुरा छोराछोरी मान्दैनन्, छोराछोरीको कुरा बाबुले मान्ने स्थिति हुँदैन। पार्टीमा बहस र विवाद नहुने कुरै भएन। एमालेले सात लाख पार्टी सदस्य भएको दाबी गरेको छ। उनीहरुको एउटै मत हुने संभावना छैन।
एमालेबाट हिजोका कतिपय मान्छे निस्किए। अब नयाँ गुट पक्का बन्छ। ओलीजीका आसेपासेबीच स्वार्थको टक्कर पक्कै हुन्छ। महासचिव को हुने भन्ने विषयमा तत्काल गुट नहोला। तर, महासचिव बनिसकेपछि गुट पनि बन्छ। राजनीतिक दल गुटरहित, विवादरहित र सोलोडोलो हुने कल्पना गर्नु अवैज्ञानिक कुरा हो। अब एमालेमा नयाँ ढंगले गुटबन्दी हुने निश्चित जस्तै हो।
ओलीजी अहिले एक्लै दौडेर विजेता हुने तरखरमा हुनुहुन्छ। सर्वसम्मतलाई ‘उच्चतम् राजनीतिक अभ्यास’ भनिरहनुभएको छ। उहाँहरुले राजनीतिशास्त्रमा हुँदै नभएको शब्द प्रतिपादन गर्नुभयो। अब सहमतिको नाममा विचार, सिद्धान्त, नीति र नेतृत्वको छलफल हुँदैन। किनकि ललितपुरमा झारा टार्ने काम गरिसक्नु भयो। नेतृत्व चयनमा पनि त्यस्तै झारा टराइ हुनेछ।
कांग्रेसको वडा, पालिका र जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भयो। त्यसैले चर्चा पनि धेरै भयो। तर, एमालेमा मतदान नै भएन। सामसुम कोठे भेला गरेर नेतृत्व छाने। नेतृत्वको विषयमा आमजनतालाई थाहा नै भएन। मिडियाले पनि उनीहरुले पकाएर तयार गरेको परिकार मात्र बाहिर ल्याए। अब एमाले महाधिवेशनमा नारायणी किनारमा भिड जम्मा गर्ने हो। त्यो भिडलाई देखाउने हो। हाम्रो पक्षमा यति धेरै जनता छन् भनेर प्रभाव पार्न खोज्ने हो।
यसअघि एमालेलाई आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने पार्टीको रुपमा चिनिन्थ्यो। मूलतः सातौँ महाधिवेशनबाट त्यस्तो अभ्यास भएको हो। ओलीजीकै पालामा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा रोकिने अवस्था आयो। यो राम्रो संकेत होइन। कुनै समय हिटलर चुनावबाटै शक्तिमा आएका थिए। उनले चुनाव जितिसकेपछि चुनाव नै हुन छोड्यो।
माधव नेपालले भने जस्तै अन्तिम समयमा उनलाई छोडकाहरुको हरिबिजोग हुने भयो। ओलीजीले जहाँ राख्न चाहनुभयो, त्यहीँ बस्नु पर्ने भयो। आफूले चाहेको पद र कमिटीमा बस्न पाउने अवस्था छैन।
महाधिवेशनपछि आमनिर्वाचन हुँदै छ। त्यसमा पनि ओलीजीले जसलाई टिकट दिनुहुन्छ, त्यही नेता मात्र उम्मेदवार बन्न पाउने हो। अहिले दुईतिहाइ ल्याउने भाषणबाजी कार्यकर्ताको तुस्टीकरणका लागि मात्रै हो। नेपालको इतिहासमा विभाजित पार्टीले चुनाव जितेकै छैन। यो मिश्रित निर्वाचन प्रणालीमा यति सजिलै बहुमत आउन पनि कठिन छ।
अघिल्लो निर्वाचनमा ओलीजीको धेरै ठूलो इमेज थियो। नाकाबन्दीका बेला ओलीजीले लिएको अडानले राष्ट्रवादी छवि बनेको थियो। त्यो इमेजले त बहुमत नदिने अवस्था बन्यो। बहुमत पुग्दैन भनेरै उहाँले माओवादीसँग तालमेल गर्नुभयो।
यदि, गठबन्धन नै गर्नु थियो भने स्थानीय निर्वाचनमा किन गर्नुुभएन तरु स्थानीय तहको निर्वाचन परिणामले एमाले पहिलो पार्टी हुने र दोस्रो तथा तेस्रो कांग्रेस र माओवादी हुने देखियो। दोस्रो र तेस्रो पार्टी मिलेर सरकार बनाए पहिलो पार्टी सत्ताबाहिर हुन सक्छ। त्यही कारण उहाँले माओवादीसँग ‘इलेभेन्थ आवर’मा चुनावी तालमेल गर्नुभयो।
आगामी महाधिवेशनमा पार्टीको वरिष्ठ उपाध्यक्षमा लड्न इश्वर पोखरेल अघि सरिसकेका छन्। तर, ओलीपछि शक्ति उनको हातमा रहँदैन। पार्टीमा भन्नलाई ७० वर्षको उमेर हदबन्दी भनियो। त्यसो हुँदा साढे चार वर्ष एमाले अयोग्य नेताको हातमा जाने भयो। ओलीजी त आगामी फागुन ११ गते ७० वर्ष पुगिहाल्नुहुन्छ। विधानअनुसार त त्यसपछि उहाँ नेतृत्व गर्न अवैध भइसक्नुहुन्छ।
महाधिवेशनबाट आफ्नो उत्तराधिकारी विकास गर्न ओलीजीलाई त्यति सहज पनि छैन। चीनमा माओले उत्तराधिकारी बनाउँछु भने पनि बनाउन सकेनन्। त्यो अवस्थामा अर्को पुस्ताका नेताबीच लडाइँ नै हुने हो। अहिले ओली पुस्ताका सबै नेता निस्किसकेका छन्। अब विष्णु पौडेल, शंकर पोखरेललगायत नेता हुने भए। उनीहरुले आफूलाई कसरी विकास गर्छन् भन्ने पनि आगामी महाधिवेशनले निर्धारण गर्नेछ।
नेपालीरैबार । २०७८ मंसिर १, बुधबार