सुर्खेत । सुर्खेत–दैलेख सडक खण्ड आजदेखी एक महिनाका लागि बन्द गरिएको छ । यो सडक अन्तरगत गुराँस गाउँपालिकाको गाइबान्नास्थित घाम ताप्ने भीरमा सडक फराकिलो बनाउन लागिएकाले सडक बन्द गरिएको हो । साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढेपछि सडक चौडा गर्ने काम शुरु गरिएकाले सडक डिभिजन कार्यालय सुर्खेतले आजदेखी पुस १५ गतेसम्मका लागि यो सडक बन्द गरेको छ ।
हाल यो क्षेत्रमा तीन मिटर मात्रै सडक चौडा छ । ‘दोहोरो गाडी चल्न सक्ने अवस्था थिएन्, सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढी थियो,’ डिभिजन सडक कार्यालय सुर्खेतका ईन्जिनियर तुलाराम शर्माले भने, ‘कार्यालयले ठेक्का आह्वान गरेर सडक फराकिलो बनाउन श्याम एण्ड शंकर जेभीलाई निर्माण जिम्मा दिएर आजदेखी काम शुरु गरिएको छ ।’
उनकाअनुसार यो भीरमा १५ मिटर उचाईको भीर कटान गरेर सात मिटर सडक चौडाइ गरिनेछ । घाम ताप्ने भीरमा तीन सय मिटर लम्बाईको भीर काट्न लागिएको ईन्जिनियर शर्माले बताए । ‘ब्रेकरबाट भीर काट्ने काम आजैदेखी शुरु भएको छ,’ शर्माले भने, ‘दैनिक अनुगमन र छिटो काम सक्नेगरी निर्माण व्यवसायीसँग समन्वय गर्ने योजनामा छौं ।’
सडक डाइभर्ट
दैलेख सडक अवरुद्ध भएपछि बैकल्पिक सडकबाट सवारी पठाउन शुरु गरिएको छ । दैलेख सडक भएर सदरमुकाम, वेस्तडा, नौमुले, जाजरकोट क्षेत्रमा जाने सवारीहरुलाई कर्णाली राजमार्गको बाँगेशीमल–तल्लोडुंगेश्वर–सियाकोट रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख र सुर्खेतसँग कार्यालयले समन्वय गरेर मालवहाक, यात्रुवहाक सवारीलाई त्यहीँ रुटबाट पठाउने व्यवस्था गरिएको शर्मा बताउँछन् ।
‘घाम ताप्ने भीरदेखी माथिबाट अस्थायी डाइभर्ट पनि बनाएका छौं,’ शर्माले भने, ‘त्यो सडकमा अलि भरपर्दो छैन्, दुई पांग्रे र हलुका साना जीप बाहेक मालबाहक र यात्रुवहाक सवारी सञ्चालनमा रोक लगाएका छौं ।’ भीर कटान गर्ने कार्य आफैमा जाेखिम हुन्छ, त्याे समयमा सवारी आवागन गरान कठिन हुने भएकाले पनि सडक बन्द गर्नु परेकाे कार्यालयकाे भनाइ छ । वैकल्पिक सडक भएकाले काम गर्न सहज हुने र निर्धारित समयमै काम सक्ने अपेक्षा सडक कार्यालयको छ ।
सुशील खड्का । २०७८ मंसिर १५, बुधबार