काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी माघ दोस्रो हप्तादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ । अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको मन्त्रालयका एक अधिकारीले बताए । ‘मन्त्रालयले यस बिषयमा र्यापिड एक्सन प्लान तयार गरिरहेको पनि उनले बताए ।
कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै मन्त्रालयले स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ । हालसम्म नेपालमा तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । तर आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ । ‘
उनका अनुसार तेस्रो लहर आएमा दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्छन् । दोस्रो लहरमा एकैदिन ९ हजार २ सय संक्रमित थपिएका थिए, जसका कारण अस्पतालहरुमा वेड र अक्सिजनसमेत अभाव भएको थियो । मन्त्रालयका अधिकारीहरुका अनुसार तेस्रो लहर आउनसक्ने केही पूर्वसंकेत देखिसकेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण पौडेलले पछिल्लो दिनमा नेपाल–भारतको प्रवेश विन्दुमा भेटिने संक्रमितको संख्या तुलनात्मक रुपले बढिरहेको बताए । त्यही कारण मन्त्रालयले आइतबार परेको परिपत्रमा पनि सीमा नाकामा परीक्षणलाई तीव्र बनाउन आग्रह गरिएको उनले जानकारी दिए ।
नेपालीरैबार । २०७८ पुष १९, सोमबार