
सुर्खेत । कर्णाली प्रदेशका चार जिल्लामा नेकपा (एमाले) को नयाँ नेतृत्व चयन भएको छ । आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा मुख्य पदमा नेतृत्व चयन भएको हो ।
अधिवेशन चलिरहेका बाँकी चार जिल्लामध्ये सुर्खेतमा निर्वाचनबाट नेतृत्व चयन हुने भएको छ ।
दैलेख र जाजरकोटमा पनि निर्वाचन हुने संकेत देखिएको एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । उनका अनुसार डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, सल्यानमा गोविन्दकुमार पुन, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा चयन भएका छन् । यी जिल्लाहरूमा सर्वसम्मत अध्यक्ष चयन भएको उनले बताए । दैलेख र जाजरकोटमा पनि निर्वाचन हुने भएको छ । ‘यी दुइवटै जिल्लामा मनोनयन दर्ताको काम भइरहेको छ । मनोनयन फिर्ता लिने समयसम्म पनि हामी सर्वसम्मतिको प्रयासमा छौं,’ एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले भने ।
उनका अनुसार कालीकोटमा भने शनिबारबाट मात्र अधिवेशन सुरु भएकोले नेतृत्व चयनमा केही समय लाग्ने भएको छ । कर्णालीका आठ जिल्लामा मात्र जिल्ला अधिवेशन भएको छ भने बाँकी रहेका दुई जिल्ला मुगुमा भाेली र हुम्लामा माघ २३ गते अधिवेशन हुने भएको छ । प्रदेश राजधानीको जिल्ला सुर्खेतको नेतृत्व चयनका लागि आज दिउँसो १ बजेबाट निर्वाचन हुने भनिए पनि अहिलसम्म शुरू हुन सकेकाे छैन् ।
सर्वसम्मतिको प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको निर्वाचन समितिका सदस्य गंगराम तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार जिल्ला नेतृत्वका लागि नेताहरू अमृत बिसी र डण्डिप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । चुनावी प्रतिस्पर्धाका लागि दुवैजनाले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् ।
बिसीको प्यानलबाट उपाध्यक्षमा कुलमणि देवकोटा उम्मेदवार बनेका छन् । सातौं जिल्ला अधिवेशनमा बिसीसँगै उपाध्यक्षमा पराजित भएका उनी यसपटक भने बिसीकै प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका हुन् । बिसी प्यानबाट सचिवमा कवीन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली उम्मेदवार बनेका छन् ।
शर्मा प्यानलबाट उपाध्यक्षमा ऋषि गिरी र सचिवमा रेशम राना मगर छन् । उपसचिवमा नेत्रलाल महतारा र टीकाराम सुवेदी उम्मेदवार बनेका छन् । पाँच सदस्यीय पदाधिकारीमा १० जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ । आठौं जिल्ला अधिवेशनसम्म आइपुग्दा एमाले सुर्खेतभित्रको समूह समीकरण फेरबदल भएको छ ।
अध्यक्ष पदका उम्मेदवारद्धय बिसी र शर्मा सातौं अधिवेशनमा एकै समूहमा थिए । दुवै जना अध्यक्ष ” ध्रुवकुमार शाहीको प्यानलबाट उपाध्यक्ष र जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । तर आठौं अधिवेशनसम्म आइपुग्दा दुई अलग समूहबाट एकै पदमा एकअर्काको प्रतिस्पर्धी बनेका छन् । विगतमा केन्द्रमा जस्तै जिल्लामा पनि केपी शर्मा ओली र माधवकुमार नेपाल समूह थिए । तर पार्टी विभाजनपछि भने विगतको माधव समूह एक ठाउँमा रहेन, तितरवितर भएको छ ।

नेपालीरैबार । २०७८ पुष २६, सोमबार