सार्वजनिक गाडीले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने

काठमाडौं। सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन्। कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक आदेश जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने प्रशासनको आदेशमा उल्लेख छ।

त्यसैगरी होटल तथा रेष्टुरेन्ट प्रवेश गर्नलाई कोभिडविरुद्धको खोप कार्ड देखाउनुपर्ने भएको छ। आदेशअनुसार होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, एयरपोर्ट, पार्क आदिमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य चाहिने छ।

पूर्ण खोप लगाएको कार्डको फोटो भए पनि हुने प्रशासनले जनाएको छ। प्रशासनले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सार्वजनिक स्थलहरूमा कडाइ गर्नेक्रममा मंगलबार यस्तो निर्णय गरेको हो। तेस्रो लहर सुरू हुनै लाग्दा त्यसको रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो।

तपाईको प्रतिक्रिया