सुर्खेत। कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण करिब तीन वर्षयता शैक्षिक क्षेत्र निकै प्रभावित छ । यो अवधिमा विद्यार्थीहरूले मुस्किलले सात–आठ महिना पनि विद्यालयमा नियमित पठनपाठन गर्न पाएका छैनन् । कोरोना संक्रमण बढ्न थालेपछि मंगलवारबाट पुनःविद्यालयहरू बन्द गरिएका छन् । भौतिक उपस्थितिमा पढाइ थालेको दुुई महिना नपुुग्दै विद्यालय बन्द भएका हुुन् । लामो समयपछि कार्तिकमा मात्र विद्यालय सञ्चालनमा ल्याइएको थियो । अब फेरि माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगरिने भएको हो ।
यो समयमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर, लामो समय पढाइ नभएकाले पाठ्यक्रम नसकिने र वैकल्पिक माध्यमबाट सबै विद्यार्थीलाई समेट्नसमेत चुनौती रहेको सरोकारवालाहरू बताउँछन् । विगतको अनुुभवले अनलाइन तथा अन्य वैकल्पिकमाध्यमहरू प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ छ । हिउँदे बिदालाई मिलान गर्ने गरी विद्यालय बन्द गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
अहिले फेरि विद्यालय बन्द गर्ने निर्णयले शैक्षिक क्षेत्र थप अस्तव्यस्त बन्ने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । सरकारले शैक्षिक गतिविधि प्रभावित बन्ने गरी निर्णय गरेको निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुुर्खेतका अध्यक्ष वेदप्रसाद ढकालले बताए । उनले स्वास्थ्य सावधानी अपनाएर विद्यालय खोल्नुपर्नेमा सरकारको पछिल्लो निर्णयले थला परेको शिक्षा क्षेत्र झनै धरासायी बन्ने जनाए । ‘यस्तो अवस्थाले विद्यार्थी र विद्यालय दुुवै मारमा पर्ने देखिएको छ,’ उनले भने ‘पार्टीका अधिवेशन र सार्वजनिक ठाउँमा भिडभाड भएकै छ ।
विद्यालय मात्र बन्द गरेर संक्रमण कसरी न्यूनीकरण हुन्छ ?’ उनले आपत्कालीन अवस्था आइसकेको भए सबै क्षेत्र बन्द हुनुपर्ने भन्दै विद्यालयलाई नै बन्द गर्ने सरकारी निर्णय व्यवहारिक नभएको तर्क गरे । उनका अनुसार जिल्लामा रहेका निजी विद्यालयले वैकल्पिक विधिबाट शिक्षण क्रियाकलाप अघि बढाउने तयारी गरेका छन् । यो अवधिमा विषय शिक्षकले घरबाटै अनलाइन कक्षा सञ्चालन गर्ने भएका हुन् । सिकाइ गतिविधिलाई निरन्तरता दिन वैकल्पिक शिक्षामा जोड दिइने भएको हो । वर्षभरी नै विद्यालय बन्द भइरहँदा शैक्षिक गुणस्तर नै खस्किदै गएको ढकालको भनाइ छ । प्याब्सन सुर्खेतका अनुसार सुुर्खेत जिल्लाभरका २० प्रतिशत बालबालिका मात्र भर्चूअलमाध्यमको पहुँचमा छन् । गत वर्षहरूको अभ्यासले पनि अधिकांश बालबालिका वैकल्पिक शिक्षाको पहुुँचमा आउन नसकेको प्याब्सनले जनाएको छ ।
मंगलवारदेखि सामुदायिक विद्यालयहरूले पनि भौतिक उपस्थितिमा गरिँदै आएको पठनपाठन बन्द गरेका छन् । सरकारी विद्यालयमा भने विद्यालय बन्द रहने समयमा वैकल्पिक कक्षा सञ्चालन गर्ने वा नगर्ने भन्नेबारे अन्योल छ । जिल्लाका अधिकांश विद्यालयले वैकल्पिक पठनपाठन सम्भव नदेखिएको बताएका छन् । स्रोतसाधन र दक्ष जनशक्तिको अभाव रहेकाले सिकाइ गतिविधिलाई निरन्तरता दिन समस्या हुने बताइएको हो । वीरेन्द्रनगरस्थित कतिपय सामुदायिक विद्यालयले भर्चूअलमाध्यमबाट पठनपाठनको तयारी गरेका छन् । जन नमूना माध्यमिक विद्यालयले वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने जनाएको छ । ‘हामीले भर्चूअल माध्यमबाट पढाउने सबै तयारी गरिसकेका छौं,’ विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले भने, ‘त्यसका लागि आवश्यक स्रोत–साधनको व्यवस्था भइसकेको छ ।’
यो विद्यालयले गत वर्षहरूमा पनि अनलाइन कक्षा सञ्चालन गरेको थियो । विद्यालयले कक्षा एक देखि १२ सम्म सबै कक्षामा सबै विषयको अनलाइन माध्यमबाट शिक्षण गरेको थियो । अबको दुुई दिनमा कक्षा एक देखि १२ सम्मका विद्यार्थीको अनलाइन कक्षा सञ्चालन हुुने प्रधानाध्यापक श्रेष्ठले बताए । उनी भन्छन्, ‘सहर केन्द्रित विद्यालय भएकाले वैकल्पिक सिकाइ पनि प्रभावकारी छ । यो पटक पनि अनलाइन कक्षा सुुरू गर्दैछौं ।’ अघिल्लो वर्ष जन नमूना माविले ५० प्रतिशतभन्दा बढी विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी गराउन सकेको थियो । यसपटक अझै संख्या वृद्धि गर्नका लागि अभिभावकसँग छलफल थालिएको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् । शिक्षकलाई प्रविधिमैत्री बनाउनका लागि ४० थान ल्यापटप वितरण गरिको विद्यालयले जनाएको छ । नमूूना विद्यालय विकास कार्यक्रम अन्तर्गत शिक्षकहरूलाई ल्यापटप वितरण गरिको हो ।
दैलेखमा आज (बुधवार)देखि सबै विद्यालय बन्द गर्ने तयारी गरिएको छ । नारायण नगरपालिकाका सामुदायिक तथा सरकारी सम्पूर्ण विद्यालय बुधवारदेखि पूूर्णरूपमा बन्द गरिने शिक्षा इकाई प्रमुुख तेजबहादुुर थापाले बताए । संकट व्यवस्थापन समिति सुुर्खेतको सोमवार बसेको बैठकले पनि पुुस २७ देखि माघ १५ गतेसम्म जिल्लामा सञ्चालित सम्पूूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यो समयमा निजी विद्यालयलहरूले शतप्रतिशत बालबालिकालाई वैकल्पिक शिक्षामा जोड्ने योजना बनाएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) सुर्खेतका अध्यक्ष गायत्री रानाले बताइन् । उनले भनिन्, ‘हामी यो बिदामा यत्तिकै बस्दैनौं । भर्चूअल सिकाइका गतिविधि सञ्चालन हुन्छन् ।’
याे रैबार साझा बिसाैनि दैनिकमा प्रकाशित छ।
पत्रपत्रिका । २०७८ पुष २९, बिहीबार