कर्णालीका नौ लाख नागरिकले लगाए कोरोना विरूद्धकाे खोप

सुर्खेत । कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण ह्वात्तै बढिरहेको छ । बिहीबारसम्म आरटी पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कर्णालीमा ७११ जनामा कोरोना पुष्टी भएको छ । कर्णालीमा कोरोनाका संक्रमण गएको पौस २५ बाट ह्वात्तै बढिरहेकाे छ ।

काेराेना परीक्षण गर्दै प्रदेश प्रयाेगशालाका चिकित्सक । तस्वीर सुशील खड्का

पुस २५ गते २९ जनामा कोरोना पुष्टी भएको थियो । जुन पुस २३, २४ र २५ गते समान थियो । तर पुस २६ गते ६२ जनामा कोरोना पुष्टीहुँदा माघ ४ गतेसम्म ४०९ जना थपिएको तथ्याङ्क प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग छ । माघ महिना शुरु भएसँगै हरेक दिन एक सयको संख्यामा कोरोनाका नयाँ संक्रमित थपिरहेका छन् ।

कोरोनाका नयाँ संक्रमित ह्वात्तै बढेपनि कर्णालीमा मृत्युदर भने शुक्रबारसम्म शून्य छ । ‘पहिलो र दोस्रो चरणमा संक्रमण दरसँगै र मृत्युदर पनि थियो,’ निर्देशनालयका सूचना अधिकारी पदम केसीले भने, ‘ओमिक्रोनको संक्रमण दर तिव्र भएपनि अधिकाँश होम आइसोलेशनमा हुनुन्छ, जटिल प्रकृतिको समस्या देखिएको छ । यसको कारण खोप नै हो ।’


निर्देशनालयको लक्ष्य कर्णालीका १४ लाख १० हजार १८२ जना नागरिकलाई खोप लगाउनु हो । हालसम्म १२ वर्षमाथिका नौ लाख ६५ हजार २३४ जनाले पहिलो चरणको खोप लगाइसकेको सूचना अधिकारी केसी बताउँछन् । उनकाअनुसार दोस्रो चरणको खोप लगाउनेको संख्या भने ६ लाख ३९ हजार १७१ जना छन् ।

‘प्रदेशका १० वटै जिल्लाहरुमा खोप पुगेको छ, स्वास्थ्यकर्मी साथीहरुले खोप लगाइराख्नु भएको छ,’ केसी भन्छन्, ‘ओमिक्रोनको संक्रमण फैलिन नदिन सचेतनामूलक कार्यक्रमसँगै खोप अभियानलाई व्यापकता दिइरहेका छौं ।’ कर्णालीका १० वटै जिल्लाका नागरिकहरुलाई निर्देशनालयले कोभिशील्ड, भेरोसेल, एक्ट्राजेनिका, फाइजर, मडार्ना र जेन्सन एण्ड जेन्सन खोप लगाउन काम जारी छ । ७९ वटा पालिका मध्य वीरेन्द्रनगर नगरपालिकाले हालसम्म ८८ प्रतिशत अर्थात तीन लाख २७ हजार ११४ जनाले खोप लगाएको रेकर्ड निर्देशनालयसँग छ ।

निर्देशनालयका निर्देशक डा. रविन खड्काले जनस्वास्थ्यका मापदण्डहरुको पुरापुर पालना गर्नु पर्ने, सभा(सम्मेलन जुलुश, अधिवेसनहरु पूर्ण रुपमा बन्द गर्न, अनावश्यक रुपमा घर बाहिर निस्कऔं र अनावश्यक यात्रा नगर्न सुझाव दिन्छन् । साथै, विद्यालय, शिक्षण संस्थाहरु केहि समयका लागी पुर्ण रुपमा बन्द गरौं,  छिटो भन्दा छिटो मापदन्ड पालना गरी लक्षित समुहले कोभिड बिरुद्दको खोप लगाऔ र  विदेश (विशेष गरी भारत) बाट आउनु भएका व्यक्तिहरु अनिवार्य होम आइसोलेसनमा बसौं र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने काम गर्नमा सहयोग गरिदिन उनको अपिल छ ।

तपाईको प्रतिक्रिया