
वीरेन्द्रनगर तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको मुकाम पनि हो । संघीयता लागुसँगै हाल वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीमा रुपान्तरण भएको छ । राजधानी भएसँगै वीरेन्द्रनगरमा जनघनत्व बढ्दो क्रममा छ । १० जिल्लाका नागरिकहरुको केन्द्रविन्दु हाल वीरेन्द्रनगर बनेको छ । जनसंख्या बढेसँगै अवसरको खोजीमा वीरेन्द्रनगर आएकामध्य केहीमा महत्वकाँक्षी बढेसँगै विभिन्न अपराधिक गतिविधिमा सलग्नको ग्राफ बढ्दो क्रममा छ । अर्थात्, वीरेन्द्रनगरमा पछिल्ला वर्ष लागूऔषधका कारोवारी र सेवनकर्ता उल्लेख्य रुपमा बढिरहेका छन् ।
सुर्खेत प्रहरीले पछिल्लो केही दिनमा १८ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेपछि वीरेन्द्रनगर लागुऔषधको हव भएको पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विगत २ दिनमा मात्र १४ जना लागुऔषध कारोबारीहरुलाई पक्राउ गरिसकेको छ । विशेषगरी युवा पुस्ता अर्थात् १८ वर्षदेखि २० वर्ष उमेर समूहका युवायुवती लागुऔषध कारोबारमा संलग्न हुने गरेको प्रहरीको निष्कर्ष छ । सरकारी तथा विभिन्न गैरसकारी संघ–संस्थाले लागुऔषध नियन्त्रणबारे बेलाबखत कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोबारमा कमी आउनुको साटो दिनदिनै कारोबारीहरु बढ्दै गएको देखिन्छ ।
परिवार तथा अभिभावकको हेलचक्य्राई र निगरानी अभावमा युवा पुस्ता लागुऔषधको लतमा फस्दै गएको प्रहरी बताउछ । प्रदेश राजधानीका सामान्यतया सबै क्षेत्रमा लागुऔषध कारोबार हुने गरेको देखिए पनि विशेषगरी बसपार्क क्षेत्र, एरिचोक, भैरवस्थान, तातापानी लगायतका क्षेत्रमा बढी हुने गरेको छ । विगत पाँच वर्षमा कर्णालीमा लागुऔषध सम्बन्धी २६९ वटा मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्कमा देखिन्छ ।
वीरेन्द्रनगरमा लागुऔषध कहाँबाट भित्रिन्छ भन्ने विषयमा प्रहरीनै अनभिज्ञ छ । विशेषगरी भारतसँग सीमा जोडिएको नेपालगञ्ज हुँदै वीरेन्द्रनगर भित्रिने अनुमान गरिए पनि सानो–सानो परिमाणमा विक्री वितरण हुने भएकाले लागुऔषध फेला पार्न मुस्किल हुने गरेको छ । बबई, छिन्चु लगायतका नाकामा निकै कडाइ गरिएपनि सानो परिमाणमा लागुऔषधको कारोबार भइरहेको छ । मन्दिरको छेउछाउ, पार्कहरुमा लागुऔषध सेवन गरेर अस्वाभाविक हर्कतहरु गरेको खण्डमा सूचना दिन पनि प्रहरी आमनागरिकहरुलाई आग्रह गरिरहेको छ ।
लागुऔषधको रोकथाम र नियन्त्रणबारे गरिएका गतिविधि प्रभावकारी हुन सकिरहेको छैन् । प्रहरीले सामुदायिक प्रहरी साझेदारीमार्फत स्थानीय जनप्रतिनिधि, टोल सुधार समितिहरु, अन्य भद्रभलादमीसँग समन्वय गरी बेला–बेला कार्यक्रम पनि गर्दै आएको देखिन्छ तर यस्ता खालका कार्यक्रम प्रभावकारी हुन सकिरहेका छैनन् । चेतनाको विकास नहुँदा पछिल्ला युवा पुस्ता कुलतमा फसेको स्वंयम प्रहरी बताउँछ । विद्यालयहरुमा पनि लागुऔषध सम्बन्धी चेतनामुलक कार्यक्रम गरिन्छ । तर प्रभावकारी हुन सकेको छैन् । नयाँ पिढीँ कुलतमा फसेर आफ्नो भविष्य बर्वाद बनाइरहेका छन् । राजधानीमा केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै चार वटै सुरक्षा निकाय, लागुऔषध नियन्त्रणमा रोकथाम गर्ने निकायहरुपनि वीरेन्द्रनगरमै छन् । त्यसैले लागूऔषध नियन्त्रण गरेर नयाँ पिढीँलाई कुलतमा फस्नबाट जोगाउनु हामी सबैके दायित्व हो ।

नेपालीरैबार । २०७८ माघ ११, मंगलवार