चोर समात्न प्रहरीको विशेष अप्रेशन

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले बाँसगढी नगपालिकाको विभिन्न घरहरुमा मानिस नभएको मौका छोपी घरबाट गरगहना र नगद चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । दाङ्ग तुलसीपुर उपमहानगपालिका-१२ टरिगाउँका २३ वर्षीय नरेन्द्र परियारलाई इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको विशेष प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका परियारले गत शुक्रबार बाँसगढी नगरपालिका-२ अच्छरियाबाट सुन चाँदीको गहनासहित नगद एक लाख २५ हजार चोरी गरेका थिए । बिहीबार मात्र बर्दिया प्रहरीले बारबर्दिया नगरपालिका-७ मा रहेको किराना पसलको भित्ता फोडी नगद तथा रिचार्ज कार्डहरु गरी रु.२३ हजार बराबरको सामान चाेरी भएकाे थियाे ।
यस्तै, मधुवन नगरपालिका-५ स्थित घरबाट घरमा कोही नभएको समयमा घर भित्र प्रवेश गरी बाकस तोडफोड गरी दुइ लाख ४० हजार बराबरको नगद तथा सुनका गरगहना चोरी भएकाे प्रहरीले जनाएकाे छ ।
सामान र नगद चाेरेर फरार रहेका बारबर्दिया नगरपालिका-७ का छविलाल जैसी, मधुवन नगरपालिका-६ का २१ वर्षीय बिशाल खड्का, वडा नं.८ बस्ने २२ वर्षीय सुरज वली र वडा नं. ६ बस्ने बिजय खड्कालाई बर्दियाको सानोश्री र बाँकेको नेपालगन्जबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेकाे हाे ।
दिनप्रतिदिन बढ्दै गईरहेको चोरी तथा लुटपाटका घटनाहरुलाई मध्यनजर गर्दै यस्ता प्रकारका घटना घट्न नदिन र घटना पश्चात फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बर्दियाले विषेश अप्रेशन टोली तयार पारी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हेम बहादुर शाहीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया