शनिवारदेखी मात्रै मौसममा सुधार हुने अनुमान

सुर्खेत । पश्चिमी वायुका कारण नेपालको पश्चिम क्षेत्र प्रभावित बनेको छ । गएरातीदेखी सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेको वायुले हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्कादेखी मध्यम वर्षा गराइरहेको हो । मुख्यगरी भारत र पाकिस्तानको हिमाली क्षेत्रमा जेट स्टिम ट्रफ्ट बन्दा पश्चिमी वायु तल झरेर विस्तारै पूर्वतर्फ सर्दा नेपालको पश्चिम क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

‘यो प्रणाली कम मात्रै बन्छ,’ पराजुलीले भने, ‘भू–मध्य रेखा र उत्तरी गोलार्धको तापक्रमका कारण भारतहुँदै यो प्रणालीले अहिले नेपालको मुख्यगरी पश्चिम क्षेत्रमा चट्याङ्गसहितको मध्यम वर्षा तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भइरहेको छ ।’

उनकाअनुसार भूमध्य रेखा भनेको भारत, पाकिस्तानको तल्लो क्षेत्रमा तापक्रम बढी छ तर उत्तरी गोलार्ध चीनको पश्चिम र रुसमा तापक्रम कम भएकाले तापक्रम कम भएको क्षेत्रबाट चिसो वायु तल झर्दा नेपालमा त्यसको प्रभाव परेको हो । ‘नेपाल प्रवेश गरेको वायुले पूर्ण रुपमा सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक रुपमा प्रभाव कायम राखेको पराजुली बताउँछन् । गण्डकी प्रदेशबाट भने पश्चिमी वायु चीनतर्फ सर्दै गएको छ तर पूर्वी नेपालमा यसको आंशिक प्रभाव परेको उनको भनाई छ ।

वरिष्ठ मौसविद राजु प्रधानाङ्गाका अनुसार पश्चिमी वायुको प्रभाव शनिवारसम्म कायम रहने बताउँछन् । उनले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा हल्का बर्षाको सम्भावना रहेकाे जानकारी दिए । देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरु हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन उनले अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया