काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर वर्षा भएको छ। यसका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगजर्न/चट्याङसहित देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ।
बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ। फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ। काठमाडौँ उपत्यकामा दिनभर घाम नदेखिएकाले चिसो महसुस गरिएको छ। काठमाडौँको न्यूनतम ४ दशमलव ९ र अधिकतम तापक्रम ९ डिग्रिसेल्सियस रहेको छ।
शुक्रबार सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ। त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ। हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनपछि यो प्रणाली हटेर क्रमिक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ।










नेपालीरैबार । २०७८ माघ २२, शनिबार