लेखराज टंलामी सुर्खेत। आज भन्दा १० वर्ष अगाडि गाउँमा मानिसहरु घर गोठमा खेतमा काम गरेर जीविको चलाइरहेका हुन्थे । सामान्यतया सबैको घरमा गाई, भैंसी, कुखुरा प्रशस्तै हुन्थ्यो । त्यतिबेला कसैले कृर्षि गर्दथे । कसैले ज्याला मज्दुरी गर्दथे । केहि न केहि स्थानिय स्रोत साधनको सदुपयोग गरेर जीविकोपार्जन हुन्थ्यो । प्राय सबै गाउँलेहरुको आर्थिक अबस्था समानान्तर नै थियो । प्राय जसो मानिसहरु गाउँ घरमा नै देखिन्थे, खासै विदेश जाने चलन आको थिएन । कोहि कोहि भारत र खाडी जान्थे । भारत गएका मानिस ६ महिना उतै र ६ महिना घरमा वाली लगाउन र भित्र्याउन बस्दथे । धेरै जसो चाड पर्वको बेला सबैको जम्काभेट हुन्थ्यो । त्यति बेला जो कोहिलाइ गाउँ घरमा सहकारीको अवधारणा थोरैलाई मात्र थाह थियो। ऋण भनेपछि गाउँका मानिस डराउथे । भर्खर भर्खर सहकारी गाउँ छिर्न लागेको थियो । सहकारीहरुले विपन्न गाउँलेहरुको समूह बनाउने र तालिम पर्दान गरि सामान्य व्यवसायको लागि केहि सहुलियत प्रदान गर्दथ्यो। समूहमा केहि मासिक बचत पनि सङ्कलन गर्दथ्यो साथसाथै सामाजिक तथा महिला विकासका तालिम पनि दिन्थ्यो । गाउँ घरमा सहकारीले सामाजिक तथा आर्थिक विकासमा राम्रो छाप छोडेको थियो।
लेखक लेखराज टंलामी
त्यो १० वर्ष देखि अहिले वर्तमान सम्म हेर्दा सामान्य सहकारी संस्थाहरु पनि धेरै ठूलो पूंजी जम्मा गर्न सफल संस्था भएछन । सायद आजभोलि गाउँ घरमा सहकारी सदस्य नभएको घर त विरलै छन् । त्यति मात्र हो र ? एउटै व्यक्ति दुई तीन वटा सहकारीहरुको सदस्य पनि छन् । पहिले पहिले गाउँ घरमा राजनैतिक कार्यक्रममा मानिसहरु भेला भएको देखिन्थे तर आजभोलि आजभोलि मान्छेहरु मासिक किस्ता तिर्न भेला भएको ज्यादा देखिन्छन् । खुशी लाग्छ केहि गाउँमा बसेर उधम गर्छु भन्ने यूवालाई सहकारीले गाउँमा वत्तिय सुबिधा दिईएको छ। सहकारीले छिटो छरिटो र केहि रकम विना धितो १२% देखि १८% सम्म प्रदान गर्दछ सायद विपन्न वर्ग लछित कार्यक्रम होला । त्यसैले होला पाल्ला घरे घनश्याम दाइले सहकारी बाट भैसी पाल्ने ऋण लिएर घरको छानो टिनको जस्ताले टल्काएछन् । गहिराघरे मगर मामाले माइजुको नाममा सहकारी संस्था बाट दुईवटा बङ्गुर देखाएर १० लाख ऋण पाएछन् । त्यसैको खुशीयालीमा गाउँको भट्टीमा बोतल र गिलास सङ्ग खुशी साट्दै छन् ।
गाउँको घनश्याम दाइ र गहिराघरे मगर मामा त एउटा पात्र मात्र भन्दा पनि हुन्छ । पहिले ऋण भनेपछि डराउने गाउँका मानिस आजभोलि सहकारीले आमूल परिवर्तन गरेर होला गाउँमा प्रत्येक व्यक्तिको ऋण छ । यथार्थ कुरा बुझ्दै जादा सहकारीको ऋणले गाउँनै उजाड पार्न लागिसकेको छ । गाउँका धेरै जसो घरमा सहकारीको लाख भन्दा तल ऋण नहुने कमै भैसकेका छन् । त्यसैले होला यसको नकारात्मक असर गाउँमा देखिन लागेको छ। सहकारीको ऋण तिर्न नसकेर हर्क दमाई काकाले १ वर्ष अगाडि घर छोडेर भागे सहकारीले घरको सबै भाडा वर्तन उठाएर लग्यो । राम बहादुर काकाले सहकारीको ऋण तिर्न वाउ वाजेको घर जग्गा नै बेच्नु पर्यो । गाउँमा मासिक किस्ता तिर्ने दिन आउन लाग्यो भने सबै आतङ्कित हुन्छन्। त्यसैले होला डाडा घरे सारु काका किस्ता तिर्ने दिन सबै जहान परीवार लिएर ढोकामा ताल्चा मारेर कतै लुक्न जान्छन् । सहकारीको महङ्गो व्याजको ऋणले धेरै युवाहरु जग्गा जमिन बाँझो राखेर खाडी मूलुक र भारतको गल्लीमा ज्याला मजदूरी गर्न गएका छन् । पाँच वर्ष विदेश बसेर विदेशमा सिकेको सीपले सहकारी बाट ऋण लिएर गाउँमा बोइलर कुखुरा फर्म खोलेका कुमार काका बजारको राम्रो व्यवस्थापन नहूदा १ वर्ष पछि ऋण तिर्न नसकेर फेरी विदेशीनु पर्यो । गाउँमा आजभोलि सहकारीको ऋणले सबै आतङ्कित भइरहेको छन् ।
सहकारीले दिने ऋण सजीलै पाइने र फितलो ऋणको अनुगमनले ऋणको सदूपयोग उत्पादन क्षेत्र कम र आयतित उपभोगमा ज्यादा खर्च भएको छ । त्यसैले आजभोलि घर खर्च, छोराछोरीको बिहे पार्टि देखि मोटरवाइक किन्ने सम्म सहकारीको ऋण बाटै हुन्छ । जस्ले समाजमा देखासिकि र सकिनसकि खर्च गर्ने वानी बसालेको छ । गाउँ घरमा सहकारीले आफ्ना सदस्यलाई वित्तिय शिक्षा दिन नसक्दा आम्दानीको स्रोतमा लगानी नभएर खर्चको स्रोतमा लगानी धेरै हुन गई बचत कम र खर्च धेरै छ जस्ले गर्दा सर्वसाधारण सहकारीको किस्ता आउने वित्तिकै आतङ्कित हुनु पर्ने अवस्था आएको छ ।
सहकारीको उदेश्य, सिध्दान्त नराम्रो विलकुल छैन। तर यसलाई केही सहकारी माफीयाहरुले कमाईखाने लोभले गर्दा गाउँका सोझा नागरिक जस संग वित्तिय शिक्षा कमि छ उसलाइ ऋण दिईएर किस्तामा व्याज खाने धन्दा चलाइरहेका छन । जसले गर्दा हिजो आँटो सिस्नो खाएर आन्नदको सपना देख्ने गाउँलेहरु सहकारीको ऋणले रातको निन्द्रा गाएब भएको छ । ऋणीको क्षमता नहेरी ऋण दिने र भाको पुर्खेली जायजेथा पनि हडप्ने प्रथा केही सहकारीले चलाएका छन्। यतिसम्मको सहकारी छनकि १ वटा भैसी, २ बाख्रा हेरेर १४% देखी १८% मा १० लाख सम्म ऋण दिने भोलि तिर्न नसकेपछि उसको सबै जायजेथा नै लिलामि गर्दिने त्यसपछि ऋणि घरको न घाटको बनाएर विचल्लि हुने अवस्था छ । हो, सहकारीहरुले ग्रामिण उधमको लागि ऋण दिएको छ राम्रो कुरा तर सहकारीले ऋण मात्र दिने प्राविधिक तालिम तथा सिप नदिने जसको कारणले व्यवसाय सुरु गरेका साना किसानहरु असफल भई सहकारीको ऋण तिर्न विदेशीन वाध्य छन् । बजारीकरणको राम्रो व्यवस्था नहुदा साना किसानहरुले राम्रो मूल्य पाउन सकेका छैनन् र तरकारी फाल्नू परेको छ । यसकारणले सहकारीवाला मोटाउने तर साना किसानहरु घरको न घाटको हुने अवस्था गाउँमा धेरै नै देखिएको छ ।
अन्तमा सहकारीहरुले ग्रामिण भेगमा ऋण प्रदान गर्दा ऋणीको क्षमता, कर्जाको उदेश्य, ऋणीको चरित्र, धितो, लगानी क्षेत्र, ऋणीको हितमा भए नभएको हेरेर मात्र कर्जा दिदा राम्रो हुन्छ । कर्जा दिएर अनुगमन र उचित नीयमन नहुदा कर्जा लगानी क्षेत्रमा गएको छैन र कर्जाको उदेश्य पुरा हुन सकेको छैन, जसले गर्दा कर्जा उत्पादन क्षेत्रमा नगई खर्च र उपभोगमा धेरै गएको छ। यसमा कडा निगरानी राख्न र व्याज खान पल्केका सहकारी माफियाहरु लाइ कारवाहीको दायरामा ल्याउन जरूरी छ। सहकारी संस्थाहरुले आफ्नो सदस्यलाई ऋण दिएर मात्र हुदैन प्राविधिक शिक्षा, व्यवसाय सम्बन्धित तालिम, र बजार अनुगमन तथा व्यवस्थापनको दायीत्व पनि निर्वाह गर्नुपर्दछ । प्रत्येक टोल टोलमा सहकारी संस्था खोल्नु भन्दा साना एउटै उदेश्य भएका सहकारीहरुलाइ एउटैमा मर्जर गरी प्रभावकारी कार्य गर्न सक्दछन् । त्यसको लागि सरकारले आवश्यक पहल गर्न जरुरी छ । आशा छ सरकार र सम्बन्धित निकायले सहकारी आतङ्क कम गर्न पहल कदमी चालोस् ।
लेखक : सुर्खेत, लेकवेशी – ८ का हुन् ।
नेपालीरैबार । २०७८ फाल्गुन १, आईतवार