छिन्चुमा बसपार्क निर्माण तयारी, लागत १८ करोड

(छिन्चु) सुर्खेत । कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका भएपनि बसपार्क अभावमा छिन्चु बजार अव्यवस्थित छ । रत्नराजमार्गमा पर्ने यो बजार क्षेत्रमा अव्यवस्थित पार्किङले विभिन्न समस्याहरु निम्त्याउँदै आएपछि छिन्चुमा बसपार्क निर्माणको काम शुरु गर्न लागिएको हो ।

भेरीगंगा नगरपालिका–१२ छिन्चुमा ‘छिन्चु बसपार्क’ निर्माण गर्न लागिएको छ । बसपार्क निर्माणका लागि शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता गरिएको छ । प्रदेश राजधानीको पहिलो बजारमै अव्यवस्थित पार्किङ, दैनिक हुने सडक दुर्घटना, दुर्गन्धलगायतका कारण यहाँ प्रवेश गर्ने आन्तरिक तथा वाह्य पर्यटकहरु नकरात्मक धारणा बनिरहेको बेला बसपार्क निर्माणको शुरुवात हुनु राम्रो पक्ष भएको उद्योग बाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकालले जानकारी दिए । बसपार्क निर्माणभएसँगै दुर्घटना न्यूनिकरण हुने अपेक्षा ढकालको छ ।

स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिहरुले बसपार्कलाई पहिलो एजेण्डा बनाएका थिए । तर विविध समस्याका कारण ढिलाई भएपनि बसपार्क निर्माणको अन्तिम गृहकार्यमा भेरीगंगा नगरपालिका जुटेको छ । यस आयोजनाबाट हाल बजारमा अव्यवस्थितरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त बसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान दिने विश्वास नगरपालिकाका उपप्रमुख रेणु आचार्यको छ ।

उनकाअनुसार करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको बसपार्कको लागत १८ करोड ५८ लाख छ । योमध्य ७० प्रतिशत अर्थात् १३ करोड ७४ हजारको ऋण नगर विकास कोषबाट नगरपालिकाले लिएको छ । बाँकी ३० प्रतिशत रकम भने नगरपालिकाले व्यहोर्ने छ । विजनेस कम्प्लेक्ससहितको दुई तले भवन निर्माण गरिने बसपार्कमा एक सय २० वटा व्यापारिक सटरहरु रहने छन् । सुविधासम्पन्न ग्यारेज र रात्रीकालिन समयमा ३० देखि ३५ वटा बसहरु बसपार्कमा राख्न सकिनेछ ।

तपाईको प्रतिक्रिया