सुर्खेत। टेलिकमले कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ । एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले वीरेन्द्रनगरबाट ‘एनटी टिभी’ सेवा पनि सुरु गरेको हो ।
टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले एनटी टिभी सेवाको शुभारम्भ गर्दै एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्न सफलता मिलेको बताए । अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले (भ्वाइस, उच्च गतिको इन्टरनेट, आइपीटीबी र भिडियो) सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी रहेको उनको भनाइ छ ।
हाल प्रयोगमा रहेको ल्यान्डलाइन टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न माध्यमबाट महसुल बुझाउन वा रिचार्ज गर्न सकिनेछ । एफटीटीएच सेवामार्फत भ्वाइस, डाटा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न नेपाल टेलिकमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । टेलिकमको यो सेवा ४२ जिल्लामा विस्तार भइसकेको छ । एनटी टिभी विस्तारले प्रदेश सरकारको डिजिटल कर्णाली स्थापना गर्ने अभियानमा सहयोग मिल्ने टेलिकम प्राविधिकको विश्वास छ ।
टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवासँगै फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराएको हो । टेलिकमका प्रादेशिक निर्देशक मल्लिकले तामाको तारबाट चल्ने परम्परागत टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण गरी अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने अभियानमा जुटेको बताए।
टेलिकम सुर्खेत कार्यालयका प्रमुख सन्तोष शर्माले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीन थरी सेवा उपलब्ध हुने एफटीटीएच सेवाको विस्तारसँगै मर्मत र निरन्तरतामा पनि ध्यान दिने प्रतिबद्धता जनाए । सुर्खेतमा टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) सेवाका ग्राहकको सङ्ख्या करिब छ हजार पुगेको छ । “एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेका छौँ”, सुर्खेत कार्यालय प्रमुख शर्माले भने, “टेलिकमको एनटिभी सेवाले सहरी सौन्दर्य कायम राख्न सघाउ पु¥याउनेछ ।” यसैबीच टेलिकमले आइतबार एनटी टिभी सेवाका पहिलो ग्राहक वीरेन्द्रनगर–१० खजुराका अमृतबहादुर रानालाई सम्मान गरेको छ ।
नेपालीरैबार । २०७८ फाल्गुन २, सोमबार