एमसीसीविरुद्ध प्रर्दशन उग्र बनेपछि प्रहरीसँग झडप

काठमाडौं। एमसीसीविरुद्ध प्रर्दशन उग्र बनेपछि प्रहरीसँग झडप भएको छ। बुधबार दिउँसो १ बजे संसद्‍ भवनमा बैठक सुरु हुनुअघिदेखि नै सुरु भएको प्रदर्शन संसद्‍ बैठक चल्दा नयाँबानेश्वर क्षेत्र भने तनावपूर्ण बनेको थियो। एमसीसी संसदमा टेबल नगर्न दबाब दिँदै आएका सत्तारुढ माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका हुन्।

होटल एभरेस्ट र नयाँ बनेको आकासे पुलमुनिको बीचमा प्रहरीले निषेधित क्षेत्रको बोर्ड टाँगेको थियो। त्यसको नजिकै पुगेर आन्दोलनकारीहरूले नाराबाजी गरिरहेका थिए। यतिकैमा आन्दोलनकारी केही उग्र बन्न थाले। प्रहरीसँग धकेलाधकेल भयो। प्रहरी केही संयमित देखिएको थियो। तर आन्दोलनकारीको बीचबाट कसैले प्रहरीमाथि ढुंगा प्रहार गर्‍यो। आन्दोलनकारीहरूले नाराबाजी गर्दै प्रहरीसँग धकेलाधकेल बढाए। प्रर्दशनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरासमेत प्रयोग गर्नु परेको थियो। यसपछि प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न पुग्यो।

अहिले पनि नयाँबानेश्वर-बबरमहल-माइतीघर सडकखण्डमा प्रर्दशनकारीहरुले एमसीसी संसदमा टेबल नगर्न दबाब दिँदै सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रर्दशन भइरहेको छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको आन्दोलन केही उग्र देखिएको थियो भने राप्रपाको विरोध तुलनात्मक रूपमा शन्तिपूर्ण देखिएको थियो। होटल एभरेस्टतर्फको साइडमा गाडीमा माइक र ब्यानर लगाएका राप्रपाका नेताले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने बारम्बार बताइरहेका थिए। तर माओवादी केन्द्रले नेतृत्व गरेको भागको विरोधका नाराबाजी भने प्रधानमन्त्री शेरबहादुर देउवाका विरुद्ध थिए। त्यहाँका नाराबाजीको भाषा पनि राप्रपाको जस्तो संयमित देखिएको थिएन।

तपाईको प्रतिक्रिया