गठबन्धनमा खटपट : सडकदेखि संसद्सम्म सरकार पक्ष नै दुई धार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न रातारात एक भएका गठबन्धन आबद्ध दलहरू एमसीसीको विषयमा फेरि विभाजित बनेका हुन् ।

सरकारले बुधबारको बैठकमार्फत संसद्मा एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्ने तयारी गरेको थियो । तर, गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले सहमति नगरी एमसीसी टेबुल गरिए सरकार छाड्नेसम्मको चेतावनी दिएपछि सरकार प्रस्ताव पेस गर्नबाट पछि हटेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले समेत बुधबारको संसद्को कार्यसूचीमा एमसीसीसम्बन्धी विषय समावेश नगरेपछि सो प्रस्ताव संसद्को प्रक्रियामा नै अघि बढेन । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा समेत एमसीसीमा सहमति नजुटेपछि उनले कार्यसूचीमा नराखेका हुन् ।

कार्यव्यवस्था समितिको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएका थिए भने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ एमसीसीका प्रावधान संशोधन नभई पेस गर्न नहुने अडानमा उभिएका थिए । बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाएका थिए ।

सत्तारूढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले भने एमसीसीलाई संसद्बाट अघि बढाउने निर्णय औपचारिक रूपमा मंगलबार नै गरेको थियो । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि एमसीसीमा असहमति जनाउँदै आइरहेको छ । तर, गठबन्धनमा रहेको जसपाले भने एमसीसीमा सहमति जनाइसकेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ६ फागुनमा बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी पेस हुने दाबी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडुले ६ फागुनमा बस्ने बैठकमा एमसीसी पेस हुने बताएका हुन् । ‘गठबन्धन आबद्ध दलबाटै छलफलका लागि केही समय माग भएपछि दुई दिनको समय अरू दियौं, थप छलफल गरी सहमति जुटाएर ६ फागुनको बैठकमा एमसीसी टेबल गर्छौं,’ कानुमन्त्री बडुले भने ।

उनले सहमति नभए पनि अब एमसीसीलाई सरकारले अघि बढाउने दाबी गर्दै अघि भने, ‘एमसीसीलाई टेबुल गर्ने पक्षमा हामी पुगिसकेका छौं, धेरै पर्खिने होइन, यो संसद्मा प्रवेश गर्नुपर्छ, संसद्मा छलफल हुनुपर्छ ।’ उनले एमसीसीमा कुनै न कुनै रूपमा माओवादी, एकीकृत समाजवादी र जसपा जोडिएको र एमसीसीका विषयमाथि भइरहेका बहसको टुंगो सडकबाट नलाग्ने भन्दै संसद्बाटै टुंगाउनुपर्नेमासमेत जोड दिए । ‘सडकको बहसले एमसीसी टुंगोमा पुग्दैन, एमसीसीलाई संसद्मा टेबल गराउने र त्यहीँबाट बहस गरेर टुंग्याउने हाम्रो उद्देश्य हो,’ मन्त्री बडूले भने ।

आज गठबन्धन बैठक
बुधबार नै एमसीसी परियोजना अघि बढाउने विषयमा सहमति नजुटेपछि सोसम्बन्धी प्रस्ताव पेस गर्नबाट सरकार ब्याक भएको छ । बुधबारकै प्रतिनिधि सभाको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भए पनि गठबन्धन आबद्ध दलबीचमा सहमति नजुटेपछि सरकार ब्याक भएको हो ।

एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो छलफलमासमेत सहमति नजुटेपछि पुनः सत्ता गठबन्धनमा एमसीसी’bout छलफल गरेर अघि बढ्ने सहमति भएको थियो ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षको बुधबारको भेटवार्तापछि आज बिहीबार ३ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बालुवाटारमा बस्ने बैठकमा एमसीसी परियोजना’bout गठबन्धनले लिने थप रणनीति’bout छलफल हुने बताइएको छ ।

माओवादी सरकारमा पनि सडकमा पनि
सरकारले एमसीसी परियोजनासम्बन्धी प्रस्ताव अघि बढाउने तयारी गर्दै गर्दा सत्तारूढ गठबन्धनमा आबद्ध दलहरू नै विभाजित बनेका छन् । सडकदेखि संसद्सम्म एमसीसीको पक्ष र विपक्षमा गठबन्धन आबद्ध दलका नेताहरू नै विभाजित देखिएका हुन् ।

सरकारमा रहेको दल नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसीको विरोधमा बुधबार सडकमा उभिएको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ आफैं एमसीसीविरुद्धको प्रदर्शनमा नयाँ बानेश्वरमा सहभागी भएका थिए । बुधबार बिहान संसद् बैठक सुरु हुनुअघि बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलेसमेत एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो । सोही बैठकको निर्णयपछि नेता श्रेष्ठ आफैं प्रदर्शनमा उत्रिएका हुन् ।

माओवादी केन्द्रका वाईसीएल, अखिल क्रान्तिकारीलगायतका भ्रातृ संस्थालेसमेत एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । यसैगरी, नेकपा एकीकृत समाजवादी, राप्रपा, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगायतले पनि एमसीसीको विरोध गरेका छन् ।

कांग्रेस आक्रामक
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसीका विषयमा गठबन्धनमा आबद्ध दल माओवादी केन्द्र असहमत बनेपछि आक्रामक बनेको छ । कांग्रेसले बिहीबार बस्ने गठबन्धन बैठकपछिको अवस्था हेरेर थप रणनीति बनाउने तयारी गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले गठबन्धनको बैठकपछि माओवादीको धारणा हेरेर कांग्रेसले थप रणनीति बनाउने जानकारी दिए ।

‘गठबन्धन बैठकमा एमसीसी’ बृहत छलफल हुँदै छ, सबैका धारणा सुन्छौं, अवस्था कस्तो बन्छ हेरौं, त्यसपछि कांग्रेसले जे गर्नुपर्ने हो आफ्नो थप निर्णय लिन्छ,’ कांग्रेस प्रवक्ता डा. महतले भने । उनले माओवादी सरकारमा बस्ने वा बाहिरिने सो दलको आन्तरिक विषय भएकोसमेत बताए । ‘माओवादी सरकारमा बस्ने वा बाहिरिने उहाँहरूको कुरा हो, हाम्रो विषय होइन,’ महतले अघि भने । कांग्रेसले मंगलबार बसेको संसदीय दल र कार्यसम्पादन समितिको बैठकमार्फत एकमतका साथ एमसीसीका पक्षमा उभिने निर्णय गरेको थियो ।

एमाले पर्ख र हेरमै
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने एमसीसीका विषयमा अझै मौन छ । एमालेले एमसीसीका विषयमा सत्तारूढ दलको प्रस्ट धारणा नआएसम्म आफ्नो निर्णय नआउने बताउँदै आइरहेको छ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले एमसीसीका विषयमा सत्ता गठबन्धकै धारणा स्पष्ट रूपमा नआएको भन्दै सत्ता पक्षको रणनीति हेरेर एमालेले आफ्नो रणनीति बनाउने बताए । ‘एमसीसीका विषयमा सत्ता पक्ष नै प्रस्ट छैन, हामी प्रतिपक्षमा बसेका छौं, उहाँहरूको निर्णय हेरौं, हामी आवश्यक परेका समय निर्णय गर्छौं,’ नेम्वाङले भने । राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया