विहेमा कुटिएका युवाकाे मृत्यु

धनगढी । विवाह समाराेहमा झगडा हुँदा कुटपिट भई गम्भीर घाइते भएका कैलालीका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । भजनी नगरपालिका–९ का २५ वर्षीय वसन्त चौधरीको उपचारको क्रममा आइतबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हाे ।

सोही ठाउँमा विवाह भइरहेका बेला उनीमाथि कुटपिट भएको थियो । वसन्तसहितका युवा विवाहमा सँगसँगै नाचगान गर्ने क्रममा विवाद उत्पन्न भई कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

घटना फागुन ७ गतेको हो । कुटपिटबाट घाइते वसन्तलाई सोही राती नै उपचारका लागि सुखडस्थित घोडाघोडी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि ८ गते बिहान कोहलपुर रिफर गरिएको थियो । कोहलपुरमा उपचारकै क्रममा चौधरीको ज्यान गएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

घटनामा संलग्न रहेकाकाे आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेकाे छ । एक जनालाई घटना भएकै दिन र चार जनालाई सोमबार पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए । पक्राउ परेकाको प्रहरीले अहिले नाम खुलाएको छैन । मुद्दा दर्तापछि उनीहरूलाई सार्वजनिक गरिने जोशीले बताए ।

तपाईको प्रतिक्रिया