बसपार्क नबन्दा पार्किङमा समस्या

जाजरकोट । जिल्ला सदरमुकाम खलंगामा बसपार्क नबन्दा गाडी पार्किङलाई समस्या भएको छ । साँघुराे बसपार्कमा गाडी पार्किङ गर्न समस्या भएपछि सडकमै पार्किङ गरिँदा जोखिम बढेको छ । जिल्लामा मोटरबाटो पुगेको १५ वर्ष पुग्दासमेत उपयुक्त बसपार्क नबन्दा यातायातका साधन समस्यामा परेका हुन ।

हाल सदरमुकाम खलंगाको शान्ति चौतारामा सडकमै रहेको सानो बसपार्कमा खचाखच कोचेर यातायातका साधन राख्ने गरिएको छ । बसपार्क बनाउनेतर्फ कसैको ध्यान नगएको यातायात व्यवसायीको गुनासो छ । जाजरकोट–डोल्पा सडकको जिराे प्वाइन्ट शान्ति चौतारा र तल्लो थाप्ले सडकमै यातायात पार्किङ गरिँदै आएको छ । यातायात व्यवसायी रमेश चन्दले फराकिलो तथा व्यवस्थित बसपार्क नहुँदा गाडी पार्किङ गर्न ठूलो समस्या भएकोे बताए ।

गाडी राख्ने र मोड्नलाई फराकिलो ठाउँ नहुँदा गाडी चालकलाई कठिनाइ भएको उनको भनाइ छ । बसपार्क साँघुराेहुँदा दुर्घटनाको खतरासमेत हुने गरेको छ । बसपार्क अभाव हुँदा यातायातका साधन होटल, पसल तथा स्थानीयका घरअगाडि राख्दा उनीहरू पनि पीडित छन ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले स्थान अभावमा बजेट विनियोजन गरे पनि बसपार्क निर्माण गर्न नसकिएको बताए । स्थानको खोजी गरी तत्कालै बसपार्क बनाउन पहल गरिने जानकारी उनले दिए । जाजरकोट यातायात व्यवसायी संघका अध्यक्ष नवराज सिंहले बसपार्क बनाउनेतर्फ जिल्ला स्थित सराकारवाला निकायको ध्यान नपुगेको बताए ।

जिल्लामा हाल भेरीगंगा यातायात, मध्यपश्चिम यातायात, काँक्रेविहार यातायात, भेरी-राप्ती यातायात, वागेश्वरी यातायातलगायत दर्जनभन्दा बढी यातायात समितिका सवारी साधन सञ्चालनमा रहेका छन । बसपार्कमा १० वटाभन्दा बढी बस राख्ने ठाउँ नरहेको र जिल्लामा साना ठूला गरी दुई सयभन्दा बढी यातायातका साधन सञ्चालनमा रहेको चालक लोकेन्द्र शाहीले बताए ।

तपाईको प्रतिक्रिया