रुसका राष्ट्रपति पुटिनद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ घोषणा गरेका छन् । एउटा टेलिभिजन सम्बोधनमा पुटिनले यस्तो घोषणा गरेका हुन् । यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषदको आकस्मिक बैठकलाई सम्बोधन गर्दै रुसलाई युक्रेनमा जान लागेका सेना रोक्न पुटिनसँग अनुरोध गरेका थिए ।

रुसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आक्रमणले युरोपेली महाद्वीपमा “ठूलो युद्धको सुरुवात हुनसक्ने” बताएका छन् । उनले राति ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे “हामी आफ्नो रक्षा आफैँ गर्छौँ” भन्ने वाचा गरेका थिए ।

युक्रेनको स्थानीय समय अनुसार बिहीवार राति १० बजेदेखि एक महिना लामो सङ्कटकालीन अवस्थामा प्रवेश गर्दैछ । क्रेमलिनले युक्रेनबाट टुक्रिएका दुईवटा पूर्वी क्षेत्रले “युक्रेनी सेनाको आक्रामक व्यवहारविरुद्ध” सहयोगका लागि अपील गरेको बताएको छ ।

विश्लेषकका भनाइमा त्यस्तो खाले अपील गरिएको भनेर रुसी सञ्चारमाध्यमले जनाएको कुरा पूर्ण स्तरको आक्रमणको बहाना हुनसक्छ । एकजना अमेरिकी वरिष्ठ अधिकारीले रुस पूर्ण स्तरको सैन्य आक्रमणका लागि तयार भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया