सुर्खेत । सडक दुर्घटनामा गम्भीर घाइते भएका वडाध्यक्षको उपचारको क्रममा मृत्यु भएपछि १२ घण्टादेखी अवरुद्ध रत्न राजमार्ग प्रहरीले बल प्रयोग गरेर खुलाए पनि पुनः अवरुद्ध गरिएको छ । भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा आज मृत्यु भएपछि स्थानीयले बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका हुन् ।
दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएका छन् । सडक अवरुद्धहुँदा रत्न राजमार्ग भएर बाहिरिने र भित्रने सवारीहरु छिन्चुमा रोकिदा यात्रुहरुको विचल्ली भएको छ ।
प्रहरीले लामो समयदेखी रोकिएका सवारीहरुलाई बल प्रयोग गरेर खुलाउने प्रयास गरेपछि आफन्तहरुले सवारी फेरि सवारी रोकेका हुन् । प्रहरीले वडाअध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि आफन्तहरुले थप उपचारका लागि काठमाडौं लैजाँदाको हेलिकोप्टर भाडा समेत व्यहोर्नु पर्ने माग राखेपछि सहमति हुन नसकेको हो । प्रहरीले दिनभर सहमतिको प्रयास गरेपनि वाता सफल नभएको प्रहरीले जनाएको छ ।
फागुन ८ गते वडाध्यक्ष कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्करलाई छिन्चुमा नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो । कार्कीको गएराति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।
नेपालीरैबार । २०७८ फाल्गुन १४, शनिबार