१२ घण्टापछि प्रहरीले खुलायो रत्न राजमार्ग

सुर्खेत । सडक दुर्घटनामा गम्भीर घाइते भएका वडाध्यक्षको उपचारको क्रममा मृत्यु भएपछि अवरुद्ध गरिएको रत्न राजमार्ग १२ घण्टापछि प्रहरीले खुलाएको छ । भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा आज विहान मृत्यु भएपछि स्थानीयले बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका थिए ।

दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराउँदा राजमार्गमा विहानैदेखी सवारी रोकिदा यात्रुहरुको विचल्ली भएको थियो । प्रहरीले लामो समयदेखी रोकिएका सवारीहरुलाई बल प्रयोग गरेर खुलाउने प्रयास गरेपनि सफल नभएपछि पुनः ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि सवारी आवागमन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनले आफन्तहरुले उठान गरेको मुख्य माग हेलिकोप्टर उद्धारमा लागेको खर्च व्यहोर्नु पर्ने अडानका कारण सडक अवरुद्ध भएको बताए । दिनभर सहमतिका लागि छलफल भएपनि ठोस सहमति नभएपछि अलपत्र यात्रुहरुलाई गन्तव्य पु¥याउन प्रहरीले सडक सुचारु गराएको प्रवक्ता घर्तीले बताए । आफन्तले छिन्चु र सत्तरीमा अवरुद्ध गरेका थिए ।

फागुन ८ गते वडाध्यक्ष कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्करलाई छिन्चुमा नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो । कार्कीको गएराति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।

तपाईको प्रतिक्रिया