उडिरहेकाे सेनाको हेलिकोप्टरमै बच्चा जन्मिएपछि…

पाइलटकाे सावधानीले आमा र बच्चाकाे अवस्था सामान्य

सुर्खेत । आज महाशिवरात्रीसँगै नेपाली सेना दिवस पनि हो । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर नेवारले आज विशेष औपचारिक कार्याक्रमको आयोजनाको तयारी थालेको थियो । तर सोमबार वीरेन्द्रनगरमा भएको उग्र प्रदर्शनले आज साँझसम्म कफ्र्यु जारी गरेपछि आजका लागि तय गरेको कार्यक्रम स्थगन भयो । तर स्थापना दिवस भएकाले नेपाली सेनाका हरेक युनिटहरुमा विहानैदेखी पूजा पाठको कार्यक्रम चलिरहेको थियो । सोही समयमै नेपाली सेनाको पश्चिम एयर वेशमा मुगुकी एक सुत्केरी व्यथा लागेको महिलाको उद्दार गर्नु पर्ने परिपत्र आयो ।

उद्दारको पत्र नै आएपछि वेशको कमाण्ड गर्दै आएका पाइलट प्रमुख सेनानी  रचन श्रेष्ठले तयारी थाले । उनलाई आज (मंगलबार) विहान ८ बजेतिर खवर आएको हो । मुगुको खत्याड गाउँपालिका–४ की २० वर्षीय धनलक्ष्मी रावललाई सुत्केरी व्यथाले च्यापेको १८ घण्टाभन्दा बढी भएको थियो । उद्दारको पत्र नै आएपछि प्रमुख सेनानी श्रेष्ठको टोली खत्याड प्रस्थान गरेको हो । मुगुबाट उद्दार गर्नुपर्ने रावलको पु¥याउनु पर्ने कर्णाली प्रदेश अस्पताल हो । खवर पाए लगत्तै हेलिकोप्टर खत्याड पुगेर रावललाई उद्दार गरिएकाे हाे । तर उनलाई अस्पताल नपुर्याउँदै उडिरहेको हेलिकोप्टरमै रावलले छोरा जन्माइन् ।

‘उद्दार गरेर फर्किरहेका थियौं, दैलेखको आकाशमा आइरहेको बेला उहाँले बच्चा जन्माउनुभयो,’ उद्दार दलका पाइलट प्रमुख सेनानी श्रेष्ठले भने, ‘विरलै हुने यस्ता घटना आज आफैले उद्दार गरिरहेको बेला दोस्रो पटक भयो ।’ यसअघि केही वर्ष पहिले हुम्लाबाट सुत्केरी व्यथा लागेको समयमा उद्दार गर्दा यस्तै प्रकृतिको घटना भएको श्रेष्ठ सम्झन्छन् ।

१७ वर्षदेखि हवाई क्षेत्रको अनुभव बटुलेका पाइलट प्रमुख सेनानी श्रेष्ठ भन्छन्, ‘म बसेको ठिक पछाडी उहाँ हुनुहुन्थ्यो, प्रसव पीडा बढ्दै जाँदा उहाँले मलाई तानिराख्नु भएको थियो । उहाँसँगैको श्रीमान भएकोले बच्चा जन्मिसकेको रहेछ ।’ उद्दारपछि सधै सुर्खेत विमानस्थलदेखि एम्बुलेन्सबाट प्रदेश अस्पताल पठाउने गरिएको थियाे । तर याे पटक विमानस्थल पुगेको हेलिकोप्टर बच्चा जन्मिसकेपछि नाभि काट्नु पर्ने भएकाले पुनः प्रदेश अस्पतालमै अवरतण गरिएको हो । ‘विमानस्थलमा तयारी अवस्थामा एम्वुलेन्स पनि थियो,’ श्रेष्ठले भने, ‘तर आमा र शिशु दुवैलाई हेलिकोप्टरबाट झार्दा शिशुको नाभिमा समस्या देखिनेहुँदा अस्पतालमा हेलिकोप्टर ल्याण्ड गरेको हुँ ।’

कर्णाली प्रदेश अस्पतालका नर्सिङ निरिक्षक कल्पना थापाकाअनुसार उद्दार गरिएका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुरुमा आकस्मिक कक्षमा भर्ना गरिएपनि अहिले दुवै अवस्था धेरै राम्रोहुँदा वार्डमा सारिएको थापाको भनाई छ । चालु आर्थिक वर्षको हालसम्म पश्चिम एयर वेशले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम क्षेत्रका ज्यान जोखिमका परेका ४० बढी गर्भवति तथा सुत्केरीको हवाई उद्दार गरिएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया