तारले क्रुप देखिएकाे वीरेन्द्रनगरमा विद्युतकाे नयाँ लाइन

सुर्खेत । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । राजधानीको शहरमा अनावश्यक रुपमा तानिएका तारहरुका कारण पनि क्रुप छ । तर नेपाल विद्युत प्राधिकरण सुर्खेतले मंगलगढीदेखी गणेशचौकसम्म विद्युतको खुला तार हटाएर कभर कन्डक्टरसहितको लाइन विस्तार गरिरहेको छ ।


वीरेन्द्रनगर नगरपालिकाले यसअघि यो क्षेत्रमा भूमिगत लाइन विस्तार गर्ने योजना बनाएको थियो । भूमिगत लाइन विस्तारमा कठिनाइन देखिएपछि पुराना पोल हटाएर नयाँ लाइन विस्तार थालिएको हो । मंगलगढी–वीरेन्द्रचौक–गणेशचौकसम्मको एक किलोमिटर पाँच सय मिटर दुरीमा केन्द्रले पुराना पोल हटाएर नयाँ पोल गाडेको छ ।

नयाँ लाइनमा एक्सएलपी कभर कन्डक्ट तार रहनेछ । जुन प्लाष्टिक कभरसहितको तार हो । यी क्षेत्रमा ११ मिटरको दुरीमा ४० पोल र ८ मिटरको दुरीमा ३६ पोल गाडेर तार तान्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख युवराज रावतले नेपालीरैबारलाई जानकारी दिए ।

‘सडकको दक्षिणतर्फ ११ केभीको पोलको माथि कम्पोजिट लाइनमा ०.५ स्क्वायर एमएम एक्सएलपी कभर कन्डर तार र तल चारसय भोल्टको कम्पोजिट लाइन रहनेछ,’ प्रमुख रावतले भने, ‘चार सय भोल्टमा एलटी लाइन ९५ र ५० स्क्वाएइयर एमएम एविसी केबल तार जडान गरिनेछ ।’

फागुन अन्तिम साता काम सक्नेगरी काम भइरहेको प्रमुख रावत बताउँछन् । विद्युतको पोलमा नेपाल टेलिकम, नीजि इन्टरनेट तथा केबल टेलिभिजन प्रदायक रहेकाले सबैसँग समन्वय गरेर काम गरिरहेको उनको भनाई छ । खुला तार हटाउँदा जोखिम कम हुने र शहरको सौन्दर्यता बढ्ने विश्वास रावतको छ ।

वीरेन्द्रनगर नगरपालिकाले केन्द्रलाई नयाँ लाइन विस्तारका लागि ८६ लाख ६९ हजार बजेट दिएको छ । यहीँ रकमबाट लाइन विस्तारसँगै ट्रान्सफर्मर स्थान्तरण गर्नेगरी रेश कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको छ । निकट भविष्यमै फोरलेन सडक खण्डको दायाँबायाँ पनि यहीँ प्रकृतिको तार विस्तार गर्ने योजना रहेको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया