काेशेली लिएर सुत्केरीकाे घर दैलेमा पुग्दै वडाध्यक्ष

जुम्ला । कनकासुन्दरी गाउँपालिका ६ का वडाध्यक्ष जग्गीप्रसाद आचार्य सुत्केरो (काेशेली) लिएर सुत्केरीको घरदैलोमा पुगेका छन् । उनी सुत्केरी महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपैयाँ सुत्केरोको रूपमा प्रदान गर्न घरदैलोमा पुगेका हुन् । जिल्लामा सुत्केरीलाई प्रोत्साहन स्वरुप रकम दिने पहिलो वडा हो ।

प्राचिन कालदेखी सिँजा क्षेत्रमा सुत्केरी महिलालाई सुत्केरो स्वरुप चामल,घ्यु,तेल,मह,मासु र अउडा लगायतका पोषिलो खानेकुरा आफन्तजनले पुर्याउने चलन छ । त्यही चलन अनुरुप वडाध्यक्ष आचार्य सुत्केरीको घरदैलोमा पुग्ने गरेका हुन् ।

उनले सुत्केरीको अवस्था बुझ्ने,सुत्केरी स्याहारका बारेमा आफन्तलाई सम्झाइबुझाई गर्ने गरेका हुन् । गर्भवती महिला सुत्केरी भएपनि निकै कमजोर हुन्छन्। उनीहरूलाई पोषणयुक्त खानेकुराको आवश्यक पर्छ । उनले भने,‘यो कमजोर अवस्थामा पोषणयुक्त खानेकुरा किनेर खानको लागि पाँच हजार रुपैयाँ प्रति सुत्केरी उपलब्ध गरिएको हो ।’

उनले घरदैलोमा पुगेर नियमित स्वास्थ्य संस्थाको निगरानीमा रहन,स्वास्थ्यकर्मी संग बारम्वार समन्वय गर्न र पोषिलो खानेकुरा र आरामको व्यवस्थापन गर्न आग्रह गरेका हुन्। यहाँका महिला सुत्केरी भएको बेला सुख्खा रोटी मात्र खाएको देख्छौँ। कार्यबोझ निकै बढेको र राम्रो संग आराम गर्न नपाएको भेटाउने गरेका छौँ । यो पटक्कै राम्रो भएन । वडाध्यक्ष आचार्यले भने,‘प्रोत्साहन रकम संगै गर्भवती र सुत्केरी भइसकेको अवस्थामा अपनाउनु पर्ने बिषयमा गम्भीर बन्न समेत सुझाव दिने गरिएको छ ।’

यो बर्ष कनकासुन्दरी ६ मा ४ गाउँ छन । गाउँमा १२ जना महिला सुत्केरी भएकी छिन् । उनीहरूलाई भेटेर पाँच हजार रुपैयाँ हातमा उपलब्ध गराइएको थियो । वडाध्यक्षले उपलब्ध गराएको पाँच हजार रुपैयाँले पोषिलो खानेकुरा किनेर प्रयोग गरिरहेको सुत्केरी महिलाहरू बताउँन् । यहाँका सबै सुत्केरी आर्थिक हिसावले निकै कमजोर हुने गरेका छन् । उनीहरूलाई पोषिलो खानेकुरा पाउँदैनन्। यो अवस्थामा निकै राहत पुगेको स्थानीय बताउँछन् ।

वडाध्यक्षले दिएको रकमले तेल, दाल,चामल, मासु,अण्डा,प्याज, टमाटर लगायतका मरमसला किनेर प्रयोग गरिरहेको सुत्केरी महिलाका आफन्तजनहरु बताउँछन । उनीहरूले कमजोर स्वास्थ्य भएको बेला घरमै आएर सुत्केरीको हातमा रुपैयाँ थमाउदा निकै खुसी भएको सुनाएका थिए । वडाध्यक्ष आचार्यले नियमित गर्भजाँच गराउन,गर्भावस्थामा संवेदनशिल बन्न र स्वास्थ्य संस्थामा सुत्केरी हुनको लागि आग्रह समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया