काठमाडाैँ । निर्वाचन आयाेगले विवादित भएकाे मतपत्रकाे ‘हरियाे रङ’बारे प्रष्ट्याएकाे छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत आयाेगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भनेका छन्— ‘मतपत्रकाे हरियाे रङबारे केही आग्रह/पूर्वाग्रह छैन । यसमा सिर्फ कलर कन्ट्रास्ट् ल्याउन खाेजिएकाे हाे । याे मतदाताहरूकाे सजिलाेकाे लागि हाे ।’
विगतमा पनि स्वस्तिक छाप र मतपत्रकाे रङ एकै खाले हुँदा गणनामा समेत कठिन भएकाे सुनाउँदै अर्यालले भनेका छन्, ‘यसाे हुँदा मतदाताहरूलाई समेत गाह्राे भएकाे रिपाेर्टीङ्गहरू भए । त्यसैले यसमाचाहिँ केही छैन । खाली फरक रङ बनाउन खाेजिएकाे हाे ।’
यसअघि आयाेगले मतपत्रकाे रङ हरियाे हुने भनेर गराएकाे जानकारीमा प्रमुख प्रतिपक्ष दल एमालेले विराेध जनाएकाे थियाे । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकाे चुनाव चिह्नबारे इङ्गित गर्दै भनेका छन्, ‘किन हरियाे राख्नुपरेकाे हाे ? त्यसकाे अर्थ के रहेछ । कि कसैकाे चुनाव चिह्नसँग मिलाउन खाेजिएकाे हाे कि ?’ यसकाे जवाफमा कांग्रेसले भनेकाे छ— ‘विभाजित कम्युनिष्ट हरिया रङसँग तर्सिन्छ ।’
नेपालीरैबार । २०७८ फाल्गुन २६, बिहीबार