तीन वटा सहकारी मर्ज

बर्दिया । बर्दिया जिल्लामा रहेका तीन वटा सहकारीहरु मर्ज गरिएकाे छ । राजापुर नगरपालिकाकाे मनपुरटपरामा एक कार्यक्रमकाे आयाेजना गरेर सिको बचत तथा ऋण सहकारी संस्था, डल्फिन बचत तथा ऋण सहकारी संस्था र मौसमी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको हाे ।

एकीकरणपछि सिको साकोस डल्फिन सेवा केन्द्र राजापुर नगरपालिका-४ राजापुर बजार र सिको साकोस मौसमी सेवा केन्द्र राजापुर नगरपालिका- ६ मानपुरटपराको सेवा केन्द्र समेत उद्घाटन गरिएकाे छ । दुवै सेवा केन्द्रको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गरेका छन् ।

संस्था एकीकरण घोषणासभाबाट सिको साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र जीवनकुमार शाहीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिसहित संयुक्त एकीकरण कार्यदल समेत गठन भएको साकोसले जनाएको छ ।

एकीकरणपछि संयुक्त कारोबार शुभारम्भ गरेको सिको साकोसको कुल वासलात ४० करोड १७ लाख ६३ हजार दुई सय ९३ पुगेको साकोसका व्यवस्थापक हरिहर पौडेलले जानकारी दिए  । सिकोको एकीकरण घोषणा सभामा सिको साकोसका अध्यक्ष दामोदर अधिकारीको, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, नेफ्स्कूनका सञ्चालक माधवप्रसाद जोशी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धिताल, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायतकाे सहभागीता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया