रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी

काठमाडौँ । रुसले चीनसँग सैन्य सामग्रीको सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन् । फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङ्सँग त्यस्तो मद्दत मागेको थियो ।

तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन । वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको उनको भनाई छ ।

हालसम्म चीनले रुस-युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन । रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया