चुनावी माहाेल बनाउन गाउँ पसे नेता, एजेण्डाभन्दा पनि पार्टी प्रवेशकाे हाेडवाजी

सुर्खेत । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहकाे निर्वाचन मिति ताेकेकाे छ । निर्वाचन मिति नजिकीदै गर्दा केन्द्रीय स्तरका नेताहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा पुगेर प्रदेश, जिल्ला र पालिका पदाधिकारीहरुलाई प्रशिक्षण दिएर गाउँ पठाइएकाे हाे ।

पछिल्ला दुइ सातामा विभिन्न पार्टीका केन्द्रीय नेताहरु सुर्खेत आएका थिए । शुरुमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सुर्खेत आएका थिए । उनी आएकाे केही समयमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव केन्द्रीत प्रशिक्षण र आमसभा गरेर काठमाडाैं फर्किएका छन् । उनीहरुले आगामी स्थानीय तहकाे निर्वाचनमा आफ्नाे विरासत कायम राख्ने गरी पार्टीका तल्लाे तहका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।

साना र ठुला राजनीतिक दलका नेताहरूले चुनावी माहाेल बनाउनेदेखि जिल्लास्तर र पालिका स्तरमा भेला तथा सभाहरुकाे कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । सबै दालका नेताहरु गाउँ पसेपछि अहिले पार्टी प्रवेश गराउनेकाे हाेडवाजी नै चलिरहेकाे छ ।

टाेल तहमै नेताहरु पुगेर कार्यकर्तालाई प्रशिक्षण र चुनाव लक्षित गतिविधिलाई तिव्रता दिएका छन् । नेपाली काँग्रेसले एक महिने गाउँ–गाउँ जाउँ कांग्रेस जिताउँ अभियान थालेकाे छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी माहाेल तयार गर्न पार्टीका तल्लाे कमिटीसम्मै चुनावी गतिविधिलाई बढवा दिइरहेका छन् ।

गएकाे फागुन १३ र १४ गते नेकपा एमाले कर्णाली प्रदेशले स्थानीय तहकाे चुनाव लक्षित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण भेला गरिसकेको छ । भेलाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नेगरी तयारी थाल्न निर्देशित गरेको नेकपा एमाले सुर्खेतका इन्चार्ज नवराज रावत बताउँछन् । उनकाअनुसार जिल्लाका विभिन्न वडामा गएर वडा भेलासँगै पार्टी प्रवेश कार्यक्रमलाई समेत तिव्रता दिएको छ । एमाले वीरेन्द्रनगर नगरपालिका–१४ मा गत फागुन २८ गते शनिबार भएको टोल कमिटि भेलाको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का १४ नम्बरका वडा इन्चार्जसहितका नेता कार्यक्रताले माओवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।

यता नेपाली कांग्रेसले पनि नगर तथा टोलमा गाउँ–गाउँ जाउँ, कांग्रेस जिताउँ अभियानलाई निरन्तता दिइरहेकाे छ । वीरेन्द्रनगरमा पार्टीका महामन्त्री गगन थापाले काँग्रेसकाे वीरेन्द्रनगर कार्यसमितले कार्यक्रमकाे शुभारम्भ गरेर स्थानीय तहकाे निर्वाचनमा काँग्रेसले विगतमा हारेका क्षेत्रमा निर्वाचन जित्न र जितेकाे ठाउँमा विरासत कायम राख्नेगरी लाग्न निर्देशन दिए । सुर्खेतको सिम्ता गाउँपालिका–८ डाँडाखालीमा कांग्रेस सिम्ता गाउँकार्य समितले गत फागुन २६ गते गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा (नेकपा) एमाले र माओवादी पार्टी परित्यागगरि दर्जनौ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गराइएकाे छ ।

यस्तै, नेकपा एकीकृत समाजवादी सुर्खेतले निर्वाचन समन्वय कमिटीको जिम्मेवारी बाँडफाँड समेत गरेको छ । गत फागुन २८ गते शनिबार बसेको बैठक आगामी चुनावमा एकीकृत समाजवादीले कसरी चुनावमा पहिलो बन्ने विषयमा निर्वाचन समन्वय कमिटी समेत बनाएको पार्टी जिल्ला अध्यक्ष मोहनसिंह बडुवालले जानकारी दिए ।

उनका अनुसार निर्वाचन समन्वय कमिटी अन्तरगत सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा (क), प्रदेश सभा (ख) त्यस्तै सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २, प्रदेश सभा (क), प्रदेश सभा (ख) गठन गरिएको जनाएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले पनि कर्णालीमा शक्ति प्रर्दशनका रूपमा उत्रिन रणनीति बनाइएकाे छ । माओवादीकाे आधार क्षेत्र मानिने कर्णालीमा आफ्नाे विरासत कायम राख्ने र थप मजवुत कसरी बनाउने भन्ने रणनीतिका साथ पार्टी अध्यक्ष प्रचण्डले कर्णालीका ७९ वटै पार्टीका पदाधिकारीलाई प्रशिक्षण दिइसकेका छन् । गत फागुन २७ गते वीरेन्द्रनगरमा पार्टीको कर्णाली कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएर प्रचण्डले आफ्नाे आधारशिलामा आफ्नाे प्रभूत्व कसरी कायम गर्ने भन्ने विषयमा ध्यान दिन नेता र कार्यकर्तालाई निर्देशन दिए । अब हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा एक नम्बर बनाउनु पर्ने निर्देशनात्क प्रशिक्षण दिएर प्रचण्ड काठमाडाैं फर्किएका छन् ।

यस्तै, संविधानसहितकाे राजसंस्था र हिन्दु राष्ट्रकाे एजेण्डा बाेकिरहेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि चुनावी माहाेलाई बनाइरहेकाे छ । गत फागुन २८ गते शनिबार पार्टीले चुनाव लक्षित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बृहत आमसभा समते गरेको छ ।

सयाैंकाे संख्यामा नेता तथा कार्यकर्ताकाको सहभागितामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोन्धन गर्दै हाल भ्रष्टाचार स्थानीय तहसम्म व्यापक रूपमा फैलिएकोले स्थानीयतहलाई भ्रष्टाचाररहित स्थानीय तहको रूपमा विकास गराउन राप्रपा चुनाव लक्षित भएको, यसपालिको निर्वाचनमा स्थानीय तहमा उच्च शिक्षा, संस्कारको राजनीति सिकाउने लगायतका विषयमा हाम्रो पार्टी अगाडी बढेको बताए । उनले स्थानीय तहकाे निर्वाचन मात्रै हैन संघ र प्रदेश सभाकाे निर्वाचनमा रणनीतिक रुपमा लाग्न नेता र कार्यकर्तालाई निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया