स्टाटस लेखेकै भरमा वडाध्यक्ष खत्रीले मुद्दा हाल्न लगाएको आरोप

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा वडाध्यक्ष लक्षित स्टाटस राखेका एक युवाविरुद्ध मुद्दा हाल्न उक्साएको आरोप आफन्तहरुले लगाएका छन् । वीरेन्द्रनगर नगरपालिकाका ३ नम्बर वडा कार्यालयका वडाध्यक्ष भूपेन्द्र खत्री लक्षित सोही वडाका गणेश केसीले सोमबार फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । उनले पोष्ट गरेको स्टाटस विरुद्ध सोही वडाका सात जना महिलाहरुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मंगलवार अभद्र व्यवहार अन्तरगत मुद्दा दायर गरेका हुन् ।


प्रहरीले मुद्दा दर्ता गरेर प्रक्रिया अघि बढाएको छ । केसीका आफन्तहरुले भने वडाप्रति राखेको गुनासोकै आधारमा मुद्दा राख्नु राम्रो पक्ष नभएको बताएका छन् । केसीले राखेको स्टाटसमा भनिएको छ, ‘हाम्रो वडामा महिलाको मात्रै काम हुन्छ की हजुर आफ्नो बुढा कहाँ छन्, के गर्दै छन् थाहा छैन की त्यो पनि हामीले जानकारी दिनुप¥यो ।’ केसीले फेसबुकमा महिलाहरुलाई बाख्रा वितरण गरेका र तालिमपश्चात ग्रुप फोटाहरुसहित स्टाटस लेखेका थिए ।

मानमर्दन गर्ने खालको स्टाटस राख्ने केसी विरुद्ध कारवाहीको माग राख्दै आवश्यक कानूनी प्रक्रियामा गएको उजूरकर्ता सरस्वती थापाक्षेत्रीले नेपालीरैबारलाई जानकारी दिइन् । चुलो चौकामा सिमित हुने महिलाहरुले काम गरेको देखि नसक्ने र स्टाटस राख्ने व्यक्तिले चयन गरेका शव्दप्रति आपत्ति जनाउँदै मुद्दा दर्ता गरिएको उनको भनाई छ । ‘वडामा सात वटा महिला सञ्जाल गठन गरेका छौं, पछि पारिएका महिलाहरुलाई मुलधारमा ल्याउने प्रयत्न गर्दा उहाँले बुढा पीडित के आधारमा भन्नुभयो,’ थापाक्षेत्रीले भनिन्, ‘हाम्रो पनि परिवार छ, हाम्रो पनि इज्जत छ, हामीले गरेका राम्रा कामहरुमा साथ र हौसला दिनुको सट्टा अनावश्यक आरोप लगाएपछि हामीले पनि कानूनी उपचार खोजेका हौं ।’

केसीका आफन्तहरुले महिलाहरुलाई उक्साएर उजूरी हाल्न लगाएको आरोप लगाएका छन् । उनीहरुले बुधबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा केही बेर घेराउ समेत गरेका थिए । ‘वडामा जहिले पनि विकासका नाममा त्यहाँका युवाहरुलाई समेटिएन्,’ केसीका आफन्त देविराम बोहोराले भने, ‘वडाध्यक्षप्रति युवाहरुले हाम्रा लक्षित काम गर्न सकेनन् भनेर आवाज उठाएकै भरमा मुद्दा हाल्न लगाउनु राजनीतिक प्रतिसोध साध्ने काम गर्नु दुःखद् हो ।’

नेपाली काँग्रेसको वडा अधिवेशनमा वडाध्यक्ष खत्रीले धाँधली गरेको भन्दै आन्दोलन गरेकाले पनि केसी विरुद्ध मुद्दा हाल्न लगाइएको आफन्तको आरोप छ । तर थापाक्षेत्रीले वडा अध्यक्षबाट कुनै दवाव नदिएको र पौरख गर्ने महिलालाई होच्याउने, तुच्छ शव्द प्रयोग गर्ने, महिलाहरुको मानमर्दन गर्ने गतिविधि केसीले गरेकाले उजूरी दिएको खण्डन गरेकी छन् । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले मुद्दा प्रक्रियामा गएकाले सोहीअनुसार कारवाही प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ । यो विषयमा वडाध्यक्ष खत्रीलाई बुझ्न खोज्दा उनले फोन उठाएनन् ।

तपाईको प्रतिक्रिया