स्थानीय तहकाे निर्वाचन नहुँदै वडाध्यक्ष र सदस्य निर्विराेध

हुम्ला । आगामी वैशाख ३० गते एकसाथ ७५३ स्थानीय तहले नयाँ जनप्रतिनिधि पाउनेछन्। सरकारले स्थानीय तहको निर्वाचनको तयारी तीव्र पारेको छ। तर हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–६ लिमीवासीले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि नयाँ जनप्रतिनिधि छानिसकेका छन्। ‘ऐन भन्दा खोलाको चैन ठूलो’ भन्ने मान्यता राख्ने लिमीका स्थानीयले जनप्रतिनिधि चयन गरेका हुन्। निर्वाचन अगाडि नै उनीहरुले वडा अध्यक्षसहित तीन सदस्यको टुङ्गो लगाएका हुन्। अब गाउँले चयन गरेका जनप्रतिनिधिलाई वैशाख ३० गतेको निर्वाचनले औपचारिकता दिनेछ।

Photo : patagoniandreams

स्थानीयको बैठकले वर्तमान अध्यक्ष पाल्जोर तामाङलाई वडा अध्यक्षमा सर्वसम्मत गर्ने निर्णय गरेका हुन्। आगामी ३० वैशाखमा स्थानीय निर्वाचनको मिति तोकेको छ । लिमीका स्थानीय कुन्जोक तामाङले नाम्खा गाउँपालिका–६ लिमीका मतदाताले वडाका जनप्रतिनिधि टुङ्गो लगाइसकेको बताए।

‘हल्जी, जाङ, तिल गाउँका स्थानीयको बैठकले नयाँ जनप्रतिनिधि सर्वसम्मत छनोट गरेको हो’, तामाङले भने, ‘अब वैशाख ३० को निर्वाचनले वडाका जनप्रतिनिधिलाई औपचारिकता दिने काम गर्छ।’ स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम ५ जेठ ०७९ मा स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुँदैछ । यी तीन गाउँमा राज्यको कानुनभन्दा स्थानीय नीति–नियम लागू हुँदै आएको उनको भनाइ छ।

‘हाम्रो गाउँमा स्थानीयको निर्णय नै लागू हुन्छ, त्यसकै आधारमा वडा नम्बर ६ का जनप्रतिनिधि छनोट कार्य सम्पन्न भएको हो’, तामाङले भने। गाउँलेको बैठकले पाल्जोर तामाङलाई नै पुनः वडाध्यक्ष बनाउने निर्णय गरेको उनले जानकारी दिए।

वडा नम्बर ६ को सदस्यमा भने सबै नयाँ सदस्य चयन भएका छन्र । हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाङ गाउँबाट महिला सदस्यमा पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामा चयन भएकी छन। गाउँमा दलित नभएकाले उक्त पद रिक्त रहनेछ।

यसअघि वडाध्यक्षम तामाङ, महिला सदस्यमा याङ्की तामाङ, कर्की लामा र कोलोप्जाङ तामाङ निर्वाचित भएका थिए। २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्ष तामाङको टिम यसरी नै सर्वसम्मत भएको थियो। गाउँले वडा अध्यक्ष र सदस्यको चयन सर्वसम्मत गरिसकेकाले वैशाख ३० गते गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मात्र मातदान हुनेछ।

लिमीमा ५४१ मतदाता

लिमीका तीन गाउँमा तीनवटा मतदान केन्द्र छन् । लिमीका तीन मतदान केन्द्र मध्ये सुनखानी आधारभूत विद्यालय हल्जीमा २२६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा २०५ र हिमशिखर प्राथमिक विद्यालय तिलमा ११० गरेर कुल ५४१ मतदाता सङ्ख्या छ।

बैठकको महत्त्व
हरेक वर्ष लिमी गाउँमा एक पटक बैठक बस्छ। बैठकले नयाँ निर्णय गर्नेछ। बैठकले खेतबारी जोत्नेदेखि अन्न भित्र्याउनेसम्म निर्णय गर्छ। लिमी गाउँमा बस्ने बैठकमा उपस्थित हुन नसके जरिवाना तिर्नुपर्छ। बैठकमा उपस्थित नभए आफ्नो हैसियतअनुसार हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने चलन स्थानीयले बनाएका हुन्। बैठक बस्ने मिति, समय र स्थान पहिले नै तोकिएको हुन्छ । बैठकमा १६ वर्ष उमेर कटेका र ६० वर्ष ननाघेका घर मूलीले मात्र बस्न पाउने नियम छ गाेरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया