सत्यमोहन जोशीद्वारा महाकाव्य ‘दङ्गि उर्वशी’ विमोचन

ललितपुर । अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा कवि डा. गोविन्द आचार्यद्धारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्य सार्वजनिक भएको छ । महाकाव्यको विमोचन संस्कृतिविद् सत्यमोहन जोशीले गरेका थिए ।

महाकाव्यको विमोचन गर्दै जोशीले भने, ‘इतिहास, साहित्य र संस्कृति हाम्रा धरोहर र वैभव हुन् । तिनको संरक्षण आजको सचेत नागरिकको दायित्व हो । यस महाकाव्यमा पनि मिथक, संस्कृतिको प्रयोग भएकोमा खुसी लागेको छ ।’

जोशी निवासमा भएको विमोचन समारोहको सभापतित्व अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीले गरेकी थिइन् ।

कार्यक्रममा प्रा.डा. खगेन्द्र प्रसाद लुइँटेल, प्रा. कोषराज न्यौपाने, रमेश खकुरेल र अनेनासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले कवि आचार्यलाई बधाइ तथा शुभकामना दिँदै समालोचकीय मन्तव्य राखेका थिए ।

कार्यक्रममा गायिका लोचन भट्टराई, साझा प्रकासनका महाप्रबन्धक प्रल्हाद पोख्रेल, साहित्यकार भुवनहरि सिग्देल र कवि इन्दिरा दाहल लगायतले कृतिमा प्रायोगिक विभिन्न छन्दका कविता वाचन गरेका थिए । कवि आचार्यले आफ्नो काव्ययात्रा र महाकाव्य यात्रासम्मको अनुभव पस्किएका थिए ।

साथै साहित्यकारका सहजता र जटिलताबारे आफ्नो स्वअनुभूति पनि पस्किएका थिए । कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्य देखि प्राध्यपक, एमफी, पीएचडीका सोधार्थी साहित्यप्रेमीको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया