अबदेखि हुम्लामै विशेषज्ञ सेवा

हुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ ।

हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए ।

प्रतिष्ठानका उपकुलपति डा रावल र मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीबीच सम्झौता भएको हो । थप दुईजना विशेषज्ञ चिकित्सक पठाएर सेवालाई प्रभावकारी बनाउन लागिएको छ । सम्झौता अनुसार आगामी वैशाख अगावै विशेषज्ञ चिकित्सक हुम्ला अस्पताल पुग्नेछन् । हुम्ला अस्पतालमा सर्जिकल, ओटी र गाइनोलोजिष्टलगायतका विशषज्ञ सेवा सञ्चालनलाई तीन चिकित्सक पठाइने उपकुलपति डा.रावलले बताए ।

यसपछि जटिल शल्यक्रिया हुम्लामै गर्न सकिने छ । बिरामी बाहिर पठाउने कार्यलाई निरुत्साहित बनाइने छ । देशभरका प्रतिष्ठानले दुर्गम जिल्लामा विशेषज्ञ सेवा दिनुपर्ने मन्त्रालयको योजना अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला रोजेको हो ।

तपाईको प्रतिक्रिया