सुर्खेतमा अनिश्चितकालिन यातायात बन्द

सुर्खेत । यातायात व्यवसायीहरुले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । भाडाका नीजि सवारीहरुले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन ।

विहानैदेखि व्यवसायीहरुले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरुको भने विचल्ली भएको छ । मुख्यगरी नीजि (रातो नम्बर प्लेट) का सवारीहरुले खुलेयाम यात्रुहरु ओसार्ने कार्य गरेकाले व्यवसायीहरुले बाध्य भएर सार्वजनिक यातायात बन्द गर्नु परेको देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले नेपालीरैबारलाई जानकारी दिए ।

उनकाअनुसार बुधबार विहानदेखी प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने कुनै सवारी सञ्चालनमा आएका छैनन् । ‘बारम्बार स्थानीय प्रशासन र प्रहरीलाई यातायात व्यवसायीहरुले संयुक्त रुपमा यस विषयमा जानकारी गराउँदा पनि सुनुवाई भएन्,’ सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले भने, ‘एकातिर तेलको मूल्य बढ्दा पनि सरकारले भाडा समायोजन गरेको छैन्, सार्वजनिक सवारीमा जानु पर्ने यात्रुहरुलाई प्रहरीकै अघिबाट ओहोरदोहोर गर्दा नियन्त्रण हुँदैन् यस्तो अवस्थामा कसरी सार्वजनिक सवारी सञ्चालनमा ल्याउनु । अव नीजिले नै यात्रुहरु बोक्छन् हामी गाडी चलाउँदैनौं ।’

 

तपाईको प्रतिक्रिया