आधिकारीक पत्र आएन, तर सवारी खुलाउने प्रयास गर्दैछौं : प्रशासन

सुर्खेत । सुर्खेतमा रहेका यातायात व्यवसायीहरुले सार्वजनिक सवारी अनिश्चितकालिन बन्द गरेपछि स्थानीय प्रशासनले सवारी खुलाउने प्रयास भइरहेको बताएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट विहानैदेखी सवारी सञ्चालनमा नआएपछि व्यवसायीहरुसँग थप छलफल गर्न लागेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेपालीरैबारलाई जानकारी दिएका हुन् ।

‘नीजि भाडाका सवारीहरुले यात्रुहरु मनलाग्दी बोकेको विषयमा प्रशासनमा कुनै लिखित पत्र आएको भेटिएको छैन्,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘सवारी एक्काशी बन्द गरेपछि मात्रै यो विषय जानकारीमा आएकाले वन्द सवारीहरु सञ्चालनमा ल्याउन व्यवसायीहरुसँग छलफल गर्न लागेका छौं ।’

व्यवसायीहरुले भने यहीँ चैत १ गते जिल्ला प्रशासनसहित प्रदेश ट्राफिक कार्यालयका निकायहरुमा लिखित रुपमा जानकारी गराएकाे बताएका छन् । सुर्खेतमा १० ओटा यातायात प्रा.लि. छन् । एक्काशी सवारी बन्द भएपछि वीरेन्द्रनगरबाट सुर्खेतसहित, कर्णालीका पहाडी, हिमाली तथा तराईँका जिल्लामा जाने कुनै पनि सवारी छुटेका छैनन् । बाह्य जिल्लाबाट सुर्खेत भित्रने रात्रकालिन सवारी बाहेक अन्य सवारीहरु वीरेन्द्रनगर प्रवेश नगरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया