विश्व क्षयरोग दिवस

कर्णालीमा विशेषज्ञ सेवाकाे दरबन्दी नहुँदा रोग पहिचानमा समस्या

सुर्खेत । आज चैत १० गते बिहीबार विश्व क्षयरोग दिवस । संघीयता आइसकेपछि कर्णालीका दश जिल्ला अस्पताल तथा निर्देशनालयमा रहेका सरुवा रोग अधिकृत र बालरोग अधिकृतको दरबन्दी कटान हुँदा विशेषज्ञ सेवा प्रदान गर्न समस्या भएको छ ।

संघीयता लागू हुनुपूर्व हरेक जिल्ला अस्पताल तथा निर्देशनालयमा क्षय तथा कुष्ठरोगसम्वन्धी मात्रै जाँच गर्ने भन्दै एक अस्पतालमा एक जना सम्बन्धित विशेषज्ञ व्यवस्था गरिएको थियो ।संघीयताले नयाँ दरबन्दी सिर्जना गरेपछि सम्बन्धित विषयमा लामो समय काम गरेका जनशक्तिहरु कतै पालिका तथा कतै अस्पतालमा थन्किनु परेको छ ।

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार क्षयरोगमा लामो समय अनुभव गरेका जनशक्ति नहुँदा रोग पहिचान गर्न पनि समस्या भएको हो । अहिले हरेक जिल्लामा कुष्ठरोग हेर्ने भन्दै एचएलाई खटाइएको पाइएको छ । ती हेल्थ असिस्टेन्टहरु पनि कहिले अस्पताल जानुपर्ने त कहिले पालिकामा दौडनु पर्ने भएका कारण उनीहरुलाई काम गर्न असहज छैन ।

‘जनरल अध्ययन गरेका हेल्थ असिस्टेन्टलाई सरुवा रोग तथा बालरोगका लागि भन्दै खटाउने गरिएको छ,’ मन्त्रालय स्रोत भन्छ, ‘यसले स्वास्थ्य क्षेत्रमा ठूलो समस्या सिर्जना भएको छ ।’

यदि सम्बन्धित रोगमा जानकारहरुमात्रै खटाइएको भए हाल कुष्ठ तथा क्षय रोगी कति छन् भन्ने यकिन तथ्यांक संकलन गर्न सजिलो हुनेथियो । पालिका स्तरमा पालिका प्रमुखको मनोमानीले स्वास्थ्य संयोजक चयन हुने र उनीहरु सरुवा रोगप्रति भन्दा पनि प्रमुख वा अध्यक्षप्रति जवाफदेही हुनुपर्ने परिस्थितिको सिर्जना हुने गरेको हो ।

यसैबीच बुधबार आयोजना गरिएको क्षयरोगसम्वन्धी पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले जिल्लामा क्षयरोगमात्रै हेर्ने विशेष कर्मचारी नहुँदा समस्या सिर्जना भएको बताए ।

‘खासगरी जिल्लामा एक जना क्षयरोग हेर्ने तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी आवश्यक छ । उसको सरुवा पनि सोही पदमा अन्य जिल्लामा गर्न सकिने गरी त्यस्तो दरबन्दी सिर्जना गर्न आवश्यक छ,’ उनले भने, ‘कोभिडका कारण स्वास्थ्य क्षेत्र कसिँदै गएको, दक्ष स्वास्थ्यकर्मीको दरबन्दी संघीयताका कारण हटेकाले समस्या भएको छ ।’ क्षयरोग सरुवा रोग भएका कारण यसको निदानका लागि आवश्यक तालिमप्राप्त कर्मचारीको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड थियो ।

कर्णालीमा के छ अवस्था ?

कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने क्षयरोगका बिरामी घट्दै गएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दिएको तथ्यांकले कर्णालीमा क्षयरोग घट्दै गएको देखाएको हो । आव २०७५/०७६ मा क्षयरोगका बिरामीको संख्या १ हजार ६३२ रहेकोमा आव २०७८/०७९ को ६ महिनामा बिरामीको संख्या घटेर ७३९ रहेको छ ।

जिल्लागत तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी क्षयरोगका बिरामी प्रदेश राजधानी सुर्खेतमा छन् । तीन वर्षको तथ्यांकले सुर्खेत जिल्लाभर १ हजार १३३ रहेको थियो । आव २०७६/०७७ मा क्षयरोगीको संख्या ४१८ मा झरेकोमा २०७७/०७८ मा ४३३ पुगेको थियो । चालू वर्षको ६ महिनामा भने यो संख्या घटेर २८१ मा देखिएको तथ्यांक सार्वजनिक भएको छ ।

यस्तै, सबैभन्दा कम बिरामी हुम्लामा छन् । आव २०७६/०७७ मा २२ जना, २०७७/०७८ मा २४ थिए भने चालू वर्षको ६ महिनामा ४ जनामा मात्र देखिएको छ । यस्तै डोल्पामा पनि क्षयरोगीको संख्या कम देखिएको छ । आव २०७६÷०७७ मा १७, २०७७/०७८ मा २६ पुगेको देखिन्छ । यस्तै चालू वर्षको ६ महिनामा यो संख्या बढेर २९ पुगेको देखिन्छ ।

हुम्ला र डोल्पामा क्षयरोगीको संख्या कम हुनुमा क्षयरोग परीक्षण नहुनु हो । कमैले मात्र क्षयरोगको परीक्षण गर्ने भएका कारण यो संख्या बढ्न पनि सक्ने निर्देशनालयको आँकलन छ । यी दुई जिल्लामा अझै पनि क्षयरोग परीक्षण केन्द्र (जीन विशेषज्ञ केन्द्र) स्थापना हुन नसकेको निर्देशनालयले जनाएको छ ।

यस्तै, जुम्लामा आव २०७६/०७७ मा ८८, २०७७/०७८ मा ७९ जना रहेकोमा चालु वर्षको ६ महिनामा ४३ मा झरेको छ । कालिकोटमा भने आव २०७६/०७७ मा ७२, २०७७/०७८ मा ६२ र चालु वर्षको ६ महिनामा ४१ जना सक्रिय बिरामी रहेका छन् ।

यस्तै, दैलेखमा आव २०७६/०७७ मा १४२, २०७७/०७८ मा १२८ र चाल आवको ६ महिनामा ७९ मा झरेको छ । रुकुमपश्चिममा आव २०७६/०७७ मा १६९, २०७७/०७८ मा १३२ र अहिले ८० जनामा झरेको छ ।

पछिल्लो समय क्षयरोगका बिरामीको उपचारमा सन्तोषजनक सफलता प्राप्त भएको निर्देशनालयको दाबी छ । आव २०७५/०७६ मा क्षयरोगीको उपचारमा ९४ प्रतिशत सफलता प्राप्त भएको उसले बताएको छ । यस्तै २०७६/०७७ मा ८६ प्रतिशत, आर्थिक वर्ष २०७७/०७८ मा ९३ प्रतिशत उपचारमा सफलता मिलेको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा क्षयरोगको उपचारमा ८६ प्रतिशत सफलता प्राप्त भएको निर्देशनालयको भनाइ छ । हाल कर्णालीमा क्षयरोग निवारणका लागि तीन सय ८ वटा क्षयरोग हेरचाह केन्द्र रहेका छन् भने २ वटा एमडीआर उपचार केन्द्र रहेका छन् ।

यस्तै, ८ जीन विशेषज्ञ केन्द्र रहेका छन् । हालसम्म डोल्पा र हुम्लामा भने जीन विशेषज्ञ केन्द्र स्थापना हुन सकेका छैनन् । यस्तै, माइक्रोस्कोपीको संख्या ४७ वटा छन् भने क्षयरोग सुचना केन्द्रको संख्या ५५ रहेको कर्णालीमा डाक्टर रेफरल सेन्टर भने अझै स्थापना भएको छैन । हाल नेपालभर डाक्टर रेफरल सेन्टरको संख्या सात रहेको जनाईएको छ ।

के हो क्षयरोग ? कसरी सर्छ

डा. खड्काका अनुसार यो सरुवा रोग हो । मुख्यगरी फोक्सोमा लाग्ने रोग भए तापनि शरीरका अन्य अंगमा पनि क्षयरोग लागेको पाइन्छ । फोक्सोबाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थी, पाचन प्रणाली, मुत्र प्रणाली तथा प्रजनन् प्रणाली, हाड जोर्नी, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखा इत्यादि हुन् ।

मुत्र प्रणालीको क्षयरोग भन्नाले मिर्गौला, मुत्र बाहिनी नली, मुत्र थैली, मुत्र मार्ग, प्रोस्टेट, सेमिनल भेसिकल इत्यादिको क्षयरोगलाई बुझिन्छ । मुत्र प्रणालीको क्षयरोग प्रायस् दोस्रो दशकदेखि चौथो दशकको उमेर अवधिमा देखिएको छ । यो रोग बाल्यकाल र बृद्धबृद्धामा कम पाइएको छ ।

प्रमुख कारण

– क्षयरोग माइकोबेक्टेरियम ट्युबरक्लोसिस नामक किटानुले गराउने संक्रमण हो ।
– प्राथमिक रुपले यो रोग फोक्सोमा लाग्ने गर्छ र त्यहाँबाट रगतको बाटो हुँदै मुत्र प्रणालीमा सर्ने गर्छ,
– संक्रमित बिरामीसँग सम्बन्ध,
– रोगसँग लड्न सक्ने क्षमता कमजोर हुनु जस्तै एचआइभी एड्स, लामो समयदेखि रोगी हुनु, विशेष किसिमको औषधि सेवन, क्यान्सर,
– जनघनत्व बढी भएको ठाउँमा बसाइ गर्नु,
– तल्लो स्तरीय जीवनशैली,
– सरसफाइ र सन्तुलित भोजनको कमी
लक्षणहरुः सुरुमा लक्षण बिहीन हुन्छ । रोग बढ्दै जाँदा पिसाबमा रगत मिसिएर आउनु, पिसाब गर्दा पोल्नु, कोखा दुख्नु , पिसाब पूर्ण रुपमा ननिख्रिनु र पिसाबको धार मसिनो हुनु जस्ता लक्षण देखा पर्छन् ।

निदान कसरी गर्ने

यो रोग निदान गर्न अलि कठिन हुने गर्छ । केही बिरामीमा त संक्रमणको प्रयोगशाला प्रमाण नहुँदा लक्षणकै आधारमा पनि क्षयरोग विरुद्धको उपचार चलाउनुपर्ने हुन्छ । निदानका लागि गरिने सामान्य जाँचहरु यसप्रकार छन– रगतको सामान्य जाँच, खकारको जाँच, पिसाबको जाँच, छातीको एक्सरे, पिसिआर इत्यादि । पिसिआर विधिबाट क्षयरोग बेलैमा निदान गरी सरल तरिकाले उपचार गर्न आजकल हदैसम्म सजिलो भएको छ ।

यो विधिले ९९ प्रतिशत केसमा क्षयरोग भएको नभएको पुष्टि गर्ने गरेको छ । पिसाब गर्ने मार्गबाट दूरविन भएको यन्त्र सिस्टोस्कोप पठाई शंका लागेको ठाउँबाट मासु जाँचको लागि पठाइन्छ र मुत्र प्रणालीको क्षयरोग पता लगाउन कोसिस गरिन्छ ।

औषधिहरुले काम नगरेको खन्डमा जेनोटैपिंग र फेनोटैपिंग विधिबाट उचित जाँचहरु पनि गरिछ । निदान गर्दा यो रोग प्रायस् मुत्र प्रणालीको अन्य संक्रमण, क्यान्सर तथा पत्थरीसँग झुक्किने देखिन्छ । जटिल स्थिति भएको, नभएको पत्ता लगाउन विशेष किसिमको एक्सरे तथा सिटी स्क्यान पनि गर्नुपर्ने हुनसक्छ ।

तपाईको प्रतिक्रिया