मोक्षभूमि माथि सिंजा संवाद

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा उपन्यासकार केशव दाहालको मोक्षभूमि माथिको सिंजा संवाद सम्पन्न भएको छ । शुक्रबार कर्णाली साहित्य समाजको आयोजनामा दाहालको उपन्यास माथि संवाद गरिएको थियो ।

सिंजा संवादमा कथाकार एवम् कर्णाली साहित्य समाजको संस्थापक संरक्षक महेशविक्रम शाहले उपन्यासकार केशव दाहालसँग संवाद गरेका छन् । संवादको क्रममा मोक्षभूमिको लेखनदेखि त्यसको विषयवस्तु र उक्त कृतिले दिने सन्देशका बारेमा शाहले प्रश्न समेत गरेका थिए ।

उक्त संवादमा उपन्यासकार दाहालले भने, ‘मान्छेले अरुलाई ढाँटेपनि आफ्नो मनलाई कहिल्यै पनि ढाँट्न नसक्ने भएकाले साहित्यसँगको संवाद मखमली जस्तै हुन्छ ।’ उनले थपे, ‘किनकी साहित्य मनदेखि प्रभावित हुने विषयवस्तु हो, भाषा विना अक्षर बन्ने थिएन अनि अक्षर नभए किताब बन्ने थिएन किताब नबनेको भए मान्छेले कसरी अभिव्यक्ति गर्ने होला नि भन्ने प्रसँग उठाउँदै मानव सभ्यताको कडी भनेकै स्वतन्त्र समाज हो ।’

दाहालले जहाँ दास प्रथा हुन्छ त्यहाँ मुक्तिका लागि विद्रोह हुन्छ भन्ने कुरालाई आधार मानेर आफूले मोक्षभूमिको रचना गरेको बताउँदै उक्त कृतिले पाठकको मन छुने र दिमाग हल्लाउने बताए ।

यस्तै, कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले सहजीकरण गरेको उक्त कार्यक्रममा पिताम्बर ढकाल, युद्धविक्रम शाही, मणीकुमार पोखरेल, उमालाल आचार्य, ऋषिप्रसाद थानी, लिला ढकाल, हरिलाल महतारा, मायाप्रसाद शर्मा, हरिलाल महतारा, जागेश्वर नेपाल, मनोज दाहाल, सर्जन सिंह, अनिल ढकाल, पवन थापा, कृष्ण विरही जलन, महेन्द्र चन्द महासागर, पहल असिम थापा, भगवती विसी, यज्ञ खत्रीलगायतको उपस्थिति रहेको थियो । सम्वाद कार्यक्रमका लागि शहिद याम विसी स्मृति प्रतिष्ठानले सहकार्य गरेको हो ।

तपाईको प्रतिक्रिया